एक धर्को सिन्दुर के हो र त्यो त पखालिन सक्छ,
चुरापोते काँचको न हो, त्यो पनि फुट्न सक्छ,
दिन्छु तिमीलाई यो चोखो माया
जो सधैं सधैं बाँचिदिन्छ ...
देउतीबज्यै मन्दिर नजिकै एकजोडी प्रेमीप्रेमिकाले बडो रोमाञ्चक ढंगले यो गीत गुनगुनाइरहेका थिए ।
ती जोडी अरु कोही नभएर मेरै कक्षामा पढ्ने साथी थिए । म कक्षा ९ मा पढ्दाको मीठो स्मरण हो यो । शनिबारको दिन थियो । सुर्खेतको देउतीबज्यै मन्दिरमा भाकल गर्ने हो भने चिताएको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यता छ ।
यदि चोखो मनले माग्ने हो भने देवीले भाकल पूरा गर्छिन् भन्ने विश्वासले मानिसहरू मन्दिर धाउने गर्छन्। त्योमध्येको एउटा जोडी थियो, मेरै साथीको ।
उनीहरू पनि दृढ आशा र विश्वासका साथ मन्दिर जान्थे र हरेकचोटि हाम्रो प्रेम फलोस् फुलोस् भन्दै भगवानसँग प्रार्थना गर्थे ।
दिनहरू बित्दै गए । मेरी साथी (प्रेमिका) गणितमा असाध्यै जान्ने थिई । म भने कमजोर। सामाजिक शिक्षा, नेपाली लगायतका विषयमा भने म उभन्दा जान्ने ।
हामी एउटै कक्षाका भएकाले सँगै मिलेर पढ्थ्यौं । ऊ मलाई गणित सिकाउँथी भने म चाहिँ अन्य विषय । यसरी दिनहरू बित्दै गए। ती युगल जोडीको प्रेम पनि दिनप्रतिदिन मौलाउँदै, झांगिदै गयो। यसलाई नजिकबाट नियाल्ने साक्षी मै थिएँ ।
९ कक्षामा पढ्ने भएकाले एसएलसीमा फोकस गर्न उसलाई सुझाइरहन्थें। हामी दुबैजना पढाइमा राम्रै थियौं। शिक्षकशिक्षिकाका पनि प्यारा विद्यार्थी ।
वर्षातको समय आयो । विद्यालय घरदेखि टाढा भएकाले कहिले बाटोमैं मुसो झैं भिज्थ्यौं त कहिले लेउ उम्रेको खोलामा हामी दुबै चिप्लिएर लड्थ्यौं ।
कहिले त किताबको झोलासँगै लडेर निथ्रुक्कै क्लासभित्र पस्थ्यौं । यस्तै यस्तै बाध्यताका बीचमा हामी दुबैलाई आफ्नो सुन्दर भविष्य निर्माण गर्नु थियो ।
समाजमा आफ्नो पहिचान बनाउनु थियो । पानीमा जति बल्ड्याङ खाए पनि हामीलाई केही फरक पर्नेवाला थिएन। किनकी सुन्दर भविष्यको सपना साँचेका हामीमा दृढ विश्वास थियो अनि संकल्प- कुनै पनि हालतमा पढाइ पूरा गर्ने ।
एकदिन हामीसँगै हात समाएर खोर्के खोला तर्दै थियौं । एक्कासि ठूलो भल आयो। हामी दुबै अगाडि बढ्न सकेनौं। विद्यालय १० बजे सुरू हुन्थ्यो ।
हामी भने खोलाको छेउमैं रोकियौं । पर्खनुको विकल्प रहेन । मैले साथीलाई एकछिन खोलाको बाहिरै बस्न आग्रह गरें। तर उसले मानिन । विद्यालय ढिलो हुने भएकाले बाढीको पर्वाह नै नगरी अगाडि बढ्न कर गरी । मैले मानिनँ । उसले जिद्दी गरी । उसको जिद्दीको अगाडि मैले हारें । अन्ततःदुबै भेलमैं पस्यौं ।
अलिकति अगाडि के बढेका थियौं, खोलामा उर्लेको धमिलो बाढीको हल्कोले हामी दुबैलाई नराम्ररी पछार्यो। किताबको झोला पनि नराम्ररी भिज्यो । एक भेलमैं निथ्रुक्कै भयौं। भेलसँगै दाउरा, ससाना ढुंगाहरू पनि खुट्टामा ठोक्किएकाले हामी आत्तियौं ।
हाम्रो त्यस्तो अवस्था देखेर एक जना दाइले हात समातेर हामीलाई खोला तराइदिनुभयो । खोला त तरियो तर हालत खराब थियो। केशदेअि खुट्टासम्म पूरै भिजेको ।
मलाई यस्तो हालतमा पुर्याएको भन्दै साथीसँग रिसाएँ । अबदेखि नबोल्ने भनेर विद्यालयको बाटो लागें । ऊ भने सरी भन्दै खोलाको छैउमैं बसेर रुन थाली । म पनि के कम? सुईं सुईं बाटो लागें ।
खोर्केखोलाको केही अगाडि बजारको नजिकै काठको पुल आउँछ । म त्यहाँ पुगिसक्दा पनि साथीको अत्तोपत्तो छैन । मैले त साथी भनेर पो त्यसरी घुक्र्याएको त । माया नै नगर्ने त कहाँ हो र ? मनमनैं फलाकें । उता कक्षा सुरू भइसकेको थियो, अर्कोतर्फ आफ्नो प्राण प्यारी साथी ।
मेरो जीवनमा दुबैको निकै ठूलो अर्थ थियो । एक मनले सोचें, ह्या आज एकदिन कक्षा नलिँदा के हुन्छ ? तर त्यसदिनको कक्षा पनि अति नै महत्वपूर्ण थियो । मलाई मनपर्ने लक्ष्मी गुरुआमाको पिरियड थियो । उहाँको पढाउने शैली मलाई खास लाग्थ्यो । एकदमै माया पनि गर्नुहुन्थ्यो ।
१० मिनेट जति पुलमाथि नै बसें। तर साथी आइन । अब त अत्तिभो भन्दै खोलातर्फ अघि बढें । ऊ अझै ठूलो स्वरमा रोइरहेकी थिई । मैले गल्र्याम्म अंगालो हालेर सरी भनें । हामी दुबै त्यही खोलाकै डिलमा बसेर निकैबेर रोयौं । एकअर्कासँग कहिल्यै नरिसाउने प्रण गर्दै माफी माग्यौं र विद्यालयतर्फ लाग्यौं ।
मलाई उसले किन उर्लदों भेलमा हाम फाल्न लगाई त ?भनेर सोध्न मन थियो तर ऊ भर्खरै खुसी भएकीले फेरि त्यो वातावरण धुमिल गर्ने आँट भने ममा आएन । हामी माथिल्लो बजार नजिकै पुग्यौं ।
अब त केटीलाई जसरी नि सोध्छु । हिम्मत गरेर भनें, ‘ओइ केटी किन मलाई उर्लंदो भेलमा हाम फाल्न लगाएकी हँ?खोलाले बगाएर झण्डै तल्लो भेरीमा पुर्याएको ? तँ आँटिली छेस्, तर यतिसम्म मूर्ख होलिस् भन्ने चाहिँ मलाई लागेको थिएन ।’
मेरो प्रश्नसँगै ऊ लाजले रातो पिरो भई । एकछिन केही बोल्न सकिन। मैले पनि यत्तिकै किन छोड्थें र ज्यान भिजेर विजोक पार्नेलाई । त्यसमाथि माटो लागेर टाटेपाङ्ग्रे बनाउने त्यै डाँका साथी त हो नि । ओई भन न भनेर मैले कुममा धकेलें, ‘हेर न आज उसको वर्थडे हो के ।’ उसले यति भनेपछि मैले सोध्नु बाँकी केही रहेन ।
म अति नै खुसी हुँदै थपें, ‘ओए केटी तेरो उसलाई गिफ्ट के दिन्छेस् त ?’ यसरी गफिँदागफिँदै हामीले जन उच्चमाविको विद्यालयको गेट पार गरिसकेका रहेछौं ।
नजिकै पिपल चौतारो । पानी सिमसिम परे पनि निथ्रुक्कै पार्नेगरी भने परेको थिएन। एकछिन त्यही चौतारोमा बस्ने निधो गर्यौं । उसले झोलाखोली। त्यसमा प्रेमीको लागि ग्रिटिङ कार्ड किन्ने भनेर छुट्याइएको ३० रुपैयाँ रहेछ। भिजेर चिप्किएको अंग्रेजी किताबबाट छुट्याउन खोज्दा पैसा ४ टुक्रा भयो । हामी एकछिन बोल्नै सकेनौं ।
मेरो साथीको मन कति टुक्रा भयो होला मलाई अनुमान लगाउनै नसक्ने पीडा भयो । ऊ फेरि टिलपिलाउन थाली । वर्षे पानीले बिरालोझैं भिजेकाले कक्षामा बस्ने अवस्था भएन ।
उसको प्रेमीको लागि उपहार किन्ने पैसा पनि पानीले भिजेर च्यातियो । मैले आफ्नो ब्याग खोलें। ब्यागमा रहेको पैसा भने आधाजस्तो मात्रै भिजेको रहेछ ।
डाँडा स्कुलनजिकै चन्द्राकोमा १ प्लेट चाउमिन खाजा खान्थ्यौ। मसँग त्यही खाजाको १२ रुपैयाँ थियो। तर त्यसले ग्रिटिङ कार्ड आउँदैनथ्यो । मलाई अति नै पीडा भयो । उसको एउटा उपहार किन्ने इच्छा पनि पूरा हुन सकेन हगि? म कति अभागी साथी? यदि मसँग ३० रुपैयाँ भइदिएको भए सायद ! उसको सपना पूरा हुन्थ्यो ।
हामी फेरि निःशब्द भयौं । एकछिनपछि वीरेन्द्र चोकतिर लाग्यौं । त्यहाँ राम्रो गिफ्ट पसल थियो । पसलमा आँखा डुलायौं ।
राम्रा/राम्रा पोष्टकार्डहरू भित्तामा झुण्डिएका थिए । भारतीय कलाकारहरू शाहरुख, सलमान, काजोल, श्रीदेवी, माधुरी लगायत नेपालका प्रख्यात कलाकार राजेश, करिश्मा, जल, विपना, श्रीकृष्ण लगायतका तस्वीरलाई बडो कुशलतापूर्वक सजाइएको थियो ।
हामी यो हेरेरै खुबै रमायौं । मूल्य एकसाथ सोध्यौं, ‘कति हो एउटा पोष्टकार्ड को ?’
पसलले जवाफदिए, ‘५ रुपैयाँ’ ।
नजिकै हर्ट साइन भएको, पत्रैपत्रै भएको रातो ग्रिटिङ कार्ड दुबैको आँखामा पर्यो । मैलें सोधें, यसको कति पर्छ दाइ, पसलेले उसैगरी जवाफ दिए, ‘३५ रुपैयाँ हो, लाने भए ३० मा दिउँला ।’
हामी फेरि निःशब्द भयौं ।
हाम्रो झोला नभिजेको भए… हामीले एकअर्कालाई पुलुक्क हेर्यौं । मन भारी भयो। आँखा फेरि टिलपिलाए । अब हामीसँग पोष्टकार्ड किन्नुको विकल्प थिएन । उसको मनपर्ने हिरो थिए, श्रीकृष्ण श्रेष्ठ । क्लिपले च्यापेर सजाइएको श्रीकृष्णको तस्वीर निकालेर मैले उसको हातमा थमाइदिएँ । मसँग भएको १२ रुपैयाँबाट ५ रुपैयाँ निकालेर पसलेलाई दिएँ ।
घडीमा दिनको १२ बजेको थियो । कक्षा ४ बजेसम्म लाग्थ्यो । हामीसँग अझै ४ घण्टा बाँकी नै थियो । गफिँदै चन्द्राको चाउमिन पसल हुँदै जिल्ला अस्पताल नजिकको पिपल चौतारोमा पुग्यौं ।
बाटोमा हामीलाई देख्नेहरू तलदेखि माथिसम्म हेर्दै मुसुमुसु हाँस्थे। सायद जीउमा लागेको धुलो मैलो देखेर हुनुपर्छ । श्रीकृष्णको तस्वीरको पछाडिको खाली ठाउँमा उसले बडो राम्रा अक्षरले ‘प्यारो मान्छे’भनेर जन्मदिनको शुभकामना लेखी । रमाईला गफ गर्दै चौतारोमै ४ बजायौं ।
विद्यालयको छुट्टीको घण्टी टिङटिङटिङटिङ बज्यो । साथीको प्रेमी आउने बाटो पनि त्यही थियो ।
हामीमा डर पनि थियो कि, कक्षाका अरू साथीले भेट्छन् कि भन्ने ? ४ बजेर १० मिनेट गयो । साथीको मुटुको ढुकढुकी बेजोडले बढिरहेको थियो । यत्तिकैमा उसको प्यारो मान्छेको जन्मदिनको शुभकामना दिंदै घर जाने भन्दै हामी त्यहाँबाट उठ्यौं । मैले साथीको प्रेमीको ब्याग खोल्न लगाएँ र बुकभित्र उपहार राखिदिएँ ।
मैले भनें, ”घर गएर हेर्नू ल ।“ मैले यसो भनिरहँदा दुबै लजाएका थिए ।
उनीहरूको प्रेमको कुनै सीमाना थिएन । केहीले पनि छेक्नेवाला थिएन । यसको साक्षी म थिएँ ।
दिनहरू बित्दै गए । कक्षा ९ को वार्षिक परीक्षा सुरू भयो । हामी तीनै जनाले राम्रो अंक ल्यायौं । योसँगै उनीहरूको प्रेम दिनप्रतिदिन कसिलो बन्दै थियो ।
कक्षा १० को सुरूको दिन थियो । म र मेरी साथी विद्यालयको गेटभित्र पस्यौं । उसको प्रेमीलाई मैले नजिकै देखें र बोल्न खोजें तर मेरी साथीले आफ्नो देब्रे हातले मेरो दाहिने नारीमा समातेर बेस्सरी तानी । जसको मायामा संसार भुल्थी । जसलाई जन्मदिनको शुभकामना दिन भेलमा हाम फाल्ने गर्थी । आज यो केटीलाई के भयो? बोल्नै छाडी त!
उसको यस्तो व्यवहारले म छाँगाबाट खसेजस्तै भएँ। जसको प्रतीक्षामा दिनभर पिपल चौतारोमा बिताउने केटीमाथि एक्कासि यो के आइलाग्यो ? म सोच्दै थिएँ । ऊ भने मेरो हात तान्दै थिई ।
यत्तिकैमा राष्ट्रिय गानको लागि चौरमा लाइन लाग्न सुरू भइसकेछ । अरु श्रीमान गम्भीर नेपाली भन्दै थिए, ममाथि भने मुसलधारे पानीको वर्षात भइरहेको आभाष भयो । म अनियन्त्रित भएर ढल्छु कि जस्तो भयो ।
केहीबेरपछि आफूलाई सम्हाल्दै कक्षाकोठामा पुगें। मलाई अच्चम लागिरहेको थियो । आखिर यो सबै किन भइरहेको छ? के कारणले उनीहरूबीच बोलीचाली बन्द हुने अवस्था आयो? मैले उसलाई नसोधी बस्नै सकिनँ ।
अरूले सुन्लान् कि भनेर अन्तिम बेञ्चमा लगेर सोधे, ”तिमीहरूबीच प्रेम सम्बन्ध टुंगिएको हो ?”उसले जवाफ दिई, “ ऊ त 'तल्लो' जातको पो रैछ, ऊ त विक रैछ नि, मैले त क्षेत्री भन्ठानेको”। लव इज ब्लाइन्ड, प्रेम अन्धो हुन्छ भन्ने सुनेरै हुर्किएको मान्छे म । एक्कासि उसको जातको प्रसंगले मेरो मुटु छियाछिया भयो ।
आखिर जातकै कारण मान्छे यतिसम्म कठोर बन्न सक्छ ? साभार : सेतोपाटी डट कम ।