वीरगंज, भदौ १५ । औद्योगीक घराना सराबगी ग्रुपका सञ्चालक एवं बीरगंजका बरिष्ठ उद्योगपति चिरन्जीबिलाल सरावगीको ७८ बर्षको उमेरमा निधन भएको छ ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीका पिता समेत रहनु भएका वरिष्ठ उद्योगपति सरावगीको काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारको क्रममा गएराती १२ बजेर ५ मिनटमा निधन भएको मेयर सरावगीले जानकारी दिनुभयो ।
वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई उपचारको क्रममा गत साउन २० गते काठमाडौंमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँको कन्ट्याक्ट ट्रेसिङको आधारमा गत साउन २२ गते मेयर सरावगीका पिता चिरञ्जीवीलाल सरावगी, आमा, श्रीमती, छोरा र छोरीलगायत परिवारका अन्य सदस्यहरुमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।
परिवारका सबै सदस्य संक्रमित भएपछि मेयर सरावगीले बुवा चिरन्जीविलाल सरावगीलाई साउन २४ गते देखिनै ग्राण्डी अस्पताल काठमाडौंमा उपचारका लागि भर्ना गराउनु भएको थियो भने परिवारका अन्य सदस्यहरु सोल्टी होटलको होम आईसोलेसनमा बस्नु भएको थियो ।
वीरगंजका वरिष्ठ उद्योगपति चिरन्जीविलाल सरावगी गत भदौ २ गते कोरोना संक्रमण मुक्त हुनु भएको थियो । तर उहाँको मुटु र मृगौलामा जटिल समस्या देखिएपछि अस्पतालकै सघन कक्षमा राखेर उपचार भइरहेको अवस्थामा गएराति निधन भएको मेयर सरावगीका प्रेस संयोजक गोविन्द देवकोटाले बताउनुभयो ।
विक्रम सम्बत २००० सालमा जन्मिनु भएका स्वर्गिय सरावगी वीरगंजका वरिष्ठ उद्योगपति तथा समाजसेवीको रुपमा स्थापित हुनु भएको थियो ।
वीरगंज उधोग वाणिज्य संघको पुर्व अध्यक्ष, उद्योग बाणिज्य महासंघको पुर्व वरिष्ठ उपाध्यक्ष, मारवाडी परिषद्को केन्द्रीय अध्यक्ष, लायन्स क्लवको डिष्ट्रक्ट गभर्नर भई काम गर्नु भएका स्वर्गीय सरावगीको निधनले वीरगंजले समाजसेवा र उद्योग व्यवसायको उन्नती र प्रगतिका लागि सधै लागिपर्ने अभिभावक गुमाएको वीरगंजका वरिष्ठ उद्योगपति बाबुलाल चाचानले बताउनुभयो ।