कलैया, फागुन ७ ।
प्रदेश नम्बर २ का भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश सरकारको २ वर्षे कार्यकाल पुर्णरुपमा सफल भएको बताउनु भएको छ ।
कलैयाको पशुपति पुस्तकालयले आयोजना गरेको वक्तृत्व कला प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री सोनलले प्रदेश २ का जनताले विकास र समृद्धि खोजेकोले प्रदेश सरकारले सोही अनुसार काम गरिरहेको बताउनुभयो ।
उहाँले तराई मधेसमा विकासको लहर आएको दाबी गर्दै विकास विरोधी व्यक्तिहरुले मात्र सरकारको टिकाटिप्पणी गरेको आरोप लगाउनु भयो ।
मन्त्री सोनलले अबका दिनहरुमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, सिंचाई, शुद्ध खानेपानी, घरघरमा बिजुली बत्ती लगायतका योजनाहरु सँगसँगै भौतिक पुर्वाधारका योजनाहरु द्रुत गतिमा सम्पन्न गर्ने प्रष्ट पार्नुभयो ।
पुस्तकालयका अध्यक्ष राजु साहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रदेश सांसद पारस प्रसाद साह, जिल्ला समन्वय समिति बाराका संयोजक नवलकिशोर सिंह, राजपाका केन्द्रिय सदस्य श्याम गुप्ता, सरफुल्लाह अंसारी, महेन्द्र मण्डल, गढीमाई ट्रष्टका अध्यक्ष रामचन्द्र साह, अरुण सिंह, महिला नेतृ पिंकी यादव लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।