वीरगंज, भदौ २६ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले ३ सय बेड क्षमता भएको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।
वीरगंजको नगवा स्थित बाबा होटलमा निर्माण गरिएको नेशनल मेडिकल कोरोना अस्थायी अस्पतालको आज एक कार्यक्रमकाबीच पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उद्घाटन गर्नु भएको छ ।
अस्पतालको उद्घाटन गर्दै प्रजिअ तामाङले यस कोरोना अस्थायी अस्पतालले यस क्षेत्रका संक्रमित व्यक्तिहरूको उपचारमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए ।
पर्सामा कोरोना अस्पताल अपुग भएर घर तथा विद्यालयमा आइसोलेसन वार्ड निर्माण गर्नु परेको अवस्थालाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठन को मापदण्ड अनुसार आधुनिक सुविधा सम्पन्न ३ सय बेड क्षमता भएको कोरोना अस्थायी अस्पताल निर्माण गरेर सञ्चानमा ल्याईएको नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरूद्दिन अंसारीले जानकारी दिनु भयो ।
उहाँले कोरोना उपचारकोलागी प्रभावकारी देखिएको रेम्डेसिविर एन्टि भाइरल औषधि आवश्यक पर्ने सबै विरामीलाई निःशुल्क उपलब्ध गराउने व्यवस्थापन गरिएको समेत जानकारी दिनुभयो ।
कोरोना उपचारकालागि आवश्यक पर्ने सबै प्रकारका औषधी, प्लाज्मा थेरापी, संक्रमितलाई खाना लगायतका सम्पुर्ण सुविधा निःशुल्क दिइने नेशनल मेडिकल कलेजका अध्यक्ष डा.जैनुद्दिन अंसारीले बताउनु भयो ।
हाल १० वटा भेन्टिलेटर १६ वटा आईसियु र २५ वटा केबिन सहित १ सय ८० वटा बेड संचालनमा रहेकोमा आवश्यक्ता अनुसार बेडको संख्या थप गरी ३०० बेड क्षमताको कोरोना अस्पतालको रुपमा व्यवस्थित गरिने नेशनल मेडिकल कलेजका प्रवक्ता सेराज अहमदले जानकारी दिनु भयो ।
उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका, नेपाली सेनाका प्रमुख, स्थानिय लगायतको उपस्थिति रहेको थियो ।