वीरगंज, असोज २५ । जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको ईलाका प्रहरी कार्यालय सुगौली बिर्ताले भारी मात्रामा लागु औषध बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट प्रहरी नायव निरिक्षक सुमन सिंहको कमाण्डमा खटेको टोलीले वीरगंज महानगरपालिका वडा नं २४ बहुअरी चौक नजिक भारतिय ट्रकबाट १२ सय ६ पिस लागु औषध वीनरेक्सको बोतल र आठ सय ९१ एम्पुल, नुरफिन, डाईजोपाम, फेनारगन ईन्जेकसन सहित तिनजना भारतिय नागरिकलाई नियन्त्रण्मा लिईएको हो ।
ईलाका प्रहरी कार्यालय सुगौली बिर्ताबाट विशेष सुचनाको आधारमा सई सुमन सिंहको नेतृत्वमा खटेको प्रहरी टोलीले वीरगंज आईसिपी बाट जाँचपास भई छुटेको एच आर ३८ भि ४८९५ नम्बरको भारतिय ट्रक माथी शंका लागी चेकजाँच गर्दा ट्रकको चालक क्याबिनबाट, चालक बस्ने सिटको पछाडीको सिटमुनी र सोही क्याबिनको बोर्नटको क्याबिनमा लुकाई छिपाई ल्याईराखेको लागु औषध नुर्फिन दुई सय ९७ एम्पुल ईन्जेक्सन, फेनारगन दुई सय ९७ एम्पुल ईन्जेकसन, डाईजोपाम दुई सय ९७ एम्पुल ईन्जेक्सन, र वीनरेक्स १०० एमएलको १२०६ बोतल सहित तीन जना भारतिय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवत्ता मनोजित कुँवरले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ट्रकका चालक भारत पुर्वी चम्पारण जिल्ला मोतीहारी थाना रक्सौल हर्दिया वडा नं ४ बस्ने बिक्रान्त पटेल, ट्रकमा सवार सोही ठाउँ बस्ने राम बालक राम र आकाश कुमार राम रहेको प्रहरीले जनाएको छ ।
लागु औषध सहित पक्राउ गरिएका तिनैजना माथी लागु औषध ऐन २०३३ बमोजिम आवश्यक कार्यवाही गरिने पर्सा प्रहरीका प्रवक्ता मनोजित कुँवरले बताउनु भयो ।