वीरगंज ७ फागुन ।
एक दशकदेखि संरक्षणको अभावमा जीर्ण बनेको पर्साको नारायणी रंगशाला पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा सरकारले ७ करोड रुपैयाँ निकासा गरेको छ ।
उक्त बजेटको ५ करोड रुपैयाँ रंगशालाको दक्षिणपट्टिको प्याराफिट भत्काएर नयाँ निर्माणका लागि छुट्टयाइएको छ ।
२ करोड रुपैयाँ बहुउद्देश्यीय कभर्ड हल निर्माणका लागि खर्चिने तय भएको छ । मध्यमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख ज्याउल इस्लामले रंगशालाको दक्षिण–पश्चिम कुनामा बहुउद्देश्यीय कभर्ड हल निर्माण थालिएको र प्याराफिट निर्माणका लागि बोलपत्र आह्वान भई सम्झौता हुने प्रक्रियामा रहेको बताउनु भयो ।
कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, टेबल टेनिस, कराँते, ताईक्वान्डो, जुडो, बक्सिङ्ग लगायतका सम्पूर्ण ‘इन्डोर’ खेल खेल्न सक्ने गरि निर्माण गर्न लागिएको छ ।
रंगशालाको दक्षिणपट्टिको प्याराफिट भत्काएर पहिलो चरणमा ७९.७१ मिटर लम्बाइको ९ वटा स्टेप भएको निर्माण गरिनेछ । दक्षिण र उत्तर भागका प्याराफिट हाल सात स्टेप रहेका छन ।
भी.आई.पी. प्याराफिटसहित कुल ४ वटा प्याराफिट नारायणी रंगशालामा रहेका छन । करिब १५ हजार दर्शक क्षमताको नारायणी रंगशाला २०३८ सालमा निर्माण गरिएको थियो ।
पछिल्लो समय संरक्षण अभावमा जीर्ण बनेको रंगशालाको उत्तर र दक्षिणपट्टिका प्याराफिटमा राष्ट्रिय खेलकुल परिषदले दर्शक प्रवेशमा रोक लगाएको छ । प्याराफिटमा दुई दर्जनभन्दा बढी स्थानमा भत्कीएर प्वाल परेको हुँदा सो स्थानमा निर्माण थालिएको मध्यमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख ज्याउल इस्लामले बताउनु भयो ।
विगत १६ बर्ष देखि राष्ट्रिय स्तरका प्रतियोगिता हुन छाडेको नारायाणी रंगशालामा २०७४ साल देखि विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगिता हुँदै आएको छ ।