वीरगंज, माघ २३ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसद विघटनको विरुद्धमा तेस्रो चरणको विरोधको कार्यक्रम शुरु गरेको छ ।
जसपाको केन्द्रिय सर्कुलरअनुसार आज देशब्यापी रुपमा जनप्रदर्शन गरिएको छ । जसअन्र्तगत वीरगञ्जको घण्टाघरमा तेस्रो चरणको पहिलो दिन बृहत जनप्रदर्शन गरिएको हो ।
जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादबको सभापतित्वमा जनप्रदर्शन सम्पन्न भएको हो ।
जसपाका केन्द्रिय सदस्य रम्भा मिश्रा, रामचन्द्र पण्डित, प्रदेश सभा सदस्य करिमा बेगम, पकाहमैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, जसपा वीरगञ्ज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफ, युवा समाजवादीका केन्द्रिय सचिब सरोज यादब लगायतले विरोध कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै बक्ताहरुले संसद पुर्नस्थापना नभएसम्म सडक संघर्ष जारी रहने बताएका थिए । प्रतिगमनकारी निर्णय नसच्चिएसम्म सडक संघर्षलाई निरन्तरता दिने र सरकारलाई दवाव दिने बक्ताहरुको जोड थियो ।
पहिलो, दोस्रो चरणको विरोधका कार्यक्रम सम्पन्न भइसकेपनि चौतर्फी रुपमा अलोकतान्त्रिक निर्णयको विरोध हुँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप बक्ताहरुले लगाएका थिए ।
जसपाका नेता जगदिश पटेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण जसपा पर्साका सचिब तबरेज अहमदले गर्नुभएको थियो ।