अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स नेपालमा स्थापना भएको ५० वर्ष पुगेको छ । यसबीचमा नेपालमा लायन्समार्फत सामाजिक क्षेत्रमा थुप्रै काम भएका छन् । आगामी दिनमा पनि नेपालमा लायनिजमको भविष्य निकै सुन्दर देखिन्छ । विस्तारै लायन्सकोे स्ट्रेन्थ वृद्धि भइरहेको छ । मेम्बर र क्लबहरु बढ्दा सेवाका हातहरु पनि बढिरहेका छन् । नेपालमा दुर्गम भन्दा दुर्गम स्थानमा सेवा पुर्याउने काम लायन्स मार्फत भइरहेको छ भने आगामी दिनमा यो संख्या अझै बढ्नेछ । मेम्बरसिप बृद्धिले एकातर्फ संस्था बलियो हुन्छ भने अर्कोतर्फ कन्ट्रिव्युसनका क्षेत्रमा राम्रो हुन्छ ।
नेपालमा शिक्षा, स्वास्थ्य क्षेत्रमा लायन्स मार्फत बढी काम भइरहेको छ । आँखाको क्षेत्रमा लगातार काम भएका छन् । दादुरा रुबेला नियन्त्रणमा समेत लायन्सले नेपालमा महत्वपूर्ण योगदान पुर्याएको छ । डेढ करोड बालबालिकामा यो खोप लगाउने काम भयो । जसको सम्पूर्ण खर्च लायन्स इन्टरनेशनलमार्फत नेपालमा भयो । २.७ मिलियन डलर नेपाल सरकारलाई यो प्रोजेक्टका लागि प्राप्त भएको थियो । ब्लड डोनेसनमा योगदान पुर्याउने सबैभन्दा ठूलो संस्था समेत नेपालमा लायन्स नै बनेको छ ।
भूकम्पमा भत्किएका १८ वटा विद्यालय लायन्स अन्तर्राष्ट्रियबाट प्राप्त ४८ लाख डलरबाट निर्माण भयो । यो पनि राम्रो प्रोजेक्ट हो । स्वास्थ्य क्षेत्रमा हरेक ठाउँमा काम भइरहेका छन् । अस्पतालहरु बनिरहेका छन् भने अस्पतालको स्तर बृद्धिमा समेत लायन्सले योगदान पुर्याएको छ । क्यान्सर विरुद्धको अभियानमा लायन्सले धेरै काम गरेको छ ।
लायन्सले राज्यसँग सहकार्य समेत बढाइरहेको छ । राज्यलाई पर्ने हरेक दुःख पीडामा लायन्सले साथ दिएको छ । प्राकृतिक विपत्तीमा होस अथवा जुनसुकै अवस्थामा लायन्सले दुःखी पीडितको उद्धार तथा राहतमा सक्रिय सहभागिता देखाएका छन् । अहिले मात्रै कोभिडको समयमा एकैपटक ७० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सरकारलाई लायन्स मार्फत सहयोग प्रदान भइसकेको छ । क्लब लेबलबाट समेत उल्लेख्य मात्रामा काम भएका छन् ।
कतिपयले लायन्स मार्फत धेरै रकम बाहिर गयो भनेर आलोचना गरेको पनि पाइन्छ । बास्तविकता नबुझ्नेहरुले गर्ने आलोचना हो यो । अन्तर्राष्ट्रिय संस्थाको सदस्य बनेपछि सदस्यता शुल्क तिर्नैपर्छ । नेपालबाट एक पैसा पनि विदेश गएको छैन । नेपालमै नेपाल इन्भेष्टमेन्ट बैंकमा रकम जम्मा हुन्छ । तर, नेपालबाट जम्मा भएको सदस्यता शुल्क भन्दा धेरै रकम नेपालमा प्रोजेक्टहरु मार्फत भित्रिएका छन् । यो सत्यतालाई सबैले बुझ्नुपर्छ । हामीले तिरेको ड्युज भन्दा दोब्बर रकम नेपालमा भित्रिएका छन् । लायन्समार्फत वर्षेनी नेपालमा स्ट्याण्डर्ड ग्राण्डहरु भित्रिएका छन् । लायन्स मार्फत आएको बजेटले नेपाल धेरै उदाहरणीय कार्य भएका छन् ।
नेपालमा लायन्समा यतिबेला रिडिष्ट्रिकिङ हुँदैछ । यो पनि राम्रो पक्ष हो । अब छिट्टै रिडिष्ट्रिङ हुन्छ । रिडिष्ट्रिकिङ हुँदा धेरै लिडरहरुले लिडरसिपको अवसर प्राप्त गर्छन् । ठूलो संस्था हुँदा लिडरहरु धेरै हुनु स्वभाविकै हो । यस्तो अवस्थामा रिडिष्ट्रिकिङले धेरैलाई अवसर प्रदान गर्नेछ भने अर्कोतर्फ धेरै भन्दा धेरै प्रोजेक्ट नेपालमा ल्याउनसमेत सकिनेछ ।
नेपालमा अझै हामीले संस्थालाई बलियो बनाउन सदस्यता बृद्धि गर्न आवश्यक छ । नेपालका चार वटै डिष्ट्रिक्टका साथीहरु सदस्यता बृद्धिका क्षेत्रमा अग्र स्थानमा हुनुहुन्छ । म साथीहरुलाई बधाई दिन चाहन्छु । यो बृद्धिलाई अझै कायम राख्नुहोेला भन्न चाहन्छ । जसले समाजका लागि केही गर्न तयार हुन्छन् उनीहरुलाई लायन्समा भित्र्याउन सकिन्छ । पैसा मात्रै हेर्नु हुँदैन । लायन्स पैसा वालाहरुको संस्था होइन दिलवालाको संस्था हो ।
कुराकानीमा आधारित