वीरगंज, माघ २८ । जनता समाजवादी पार्टी पर्साले संसद विघटनको विरोधमा प्रदर्शन गर्दा प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भएको छ । वीरगंजको विभिन्न स्थानबाट निस्किएको मसाल जुलुश घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
घडिअर्वा पोखरी, लाठ गल्ली र बसपार्कबाट निस्किएको जुलुश नगरपरिक्रमा गर्दै घण्टाघर पुगेको थियो । कोणसभाको क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा दोहोरो झडप भएको थियो ।
झडपको क्रममा ढुंगामुढा समेत प्रहार भएको थियो । झडपमा परी गौरव वर्मा, दिपु वर्मा, सरोज यादव, मनमोहन पाण्डे, विरेन्द्र यादब, एजाजबाबु राकी लगायत घाइते भएका छन् । साथै जसपाका केन्द्रिय सदस्य मोनिका सिँह, मुन्नी श्रीवास्तव, जिल्ला सचिब राजेश साह, नेता महेस साहलाई केहीबेर नियन्त्रणमा लिएर छोडेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।
जसपा पर्साका अध्यक्ष रामनरेश यादबको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयमा गएको टोलिले पक्राउ परेकाहरुलाई छोडाएर ल्याएको अहमदले बताउनुभयो ।
मसाल जुलुशमा प्रदेश सभा सदस्य जन्नत अन्सारी, प्रहलाद गिरी, करिमा बेगम, मन्जुर अन्सारी, जसपाका केन्द्रिय सदस्य फिरोज मन्सुर, नेजामोदिन समानी, जगदिश पटेल, पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, वीरगञ्ज महानगर कमिटिका अध्यक्ष ओमप्रकाश सर्राफ लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको अहमदले बताउनुभयो ।