वीरगञ्ज, चैत्र ४ । माघ १ गते पर्साको प्रहरी प्रमुख पदमा आगमन भएका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले दुई महिनाको अवधिमा राज्यको कोषमा ४ करोड रुपैयाँ भन्दा बढी राजस्व संकलन गराउन सफल भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेको नेतृत्वमा खटिएको टोलीले वीरगञ्जको विभिन्न स्थानहरुबाट तस्करी, भन्सार छली ल्याएको सामान र अवैध हुण्डीको रकम बरामद गरी थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा र वीरगञ्ज भन्सार कार्यालय पठाएका छन् ।
६२ दिन भित्र ४ करोड, ११ लाख, ५६ हजार, ९ सय ३६ रुपैयाँ राजश्व राज्यकोषमा जम्मा गराउन सफल भएका प्रहरी उपरीक्षक पाण्डे नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकृतमा चिनिने गर्छन् ।
अपराध अनुसन्धानमा राम्रो छबि बनाएका एसपी पाण्डेले बालविवाह गर्ने र गराउनेहरुलाई नियन्त्रणमा लिई थप कारवाही प्रक्रिया अगाडी बढाउनु भएको थियो ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने नाबालिका र १९ वर्षका युवकले नेपालको कानुन बिपरीत गएर भुटनदेबी मन्दिरमा विवाह गरेको पिडीतको आमाले जाहेरी दिनुभएको थियो, सोही जाहेरीको आधारमा प्रहरी उपरीक्षक पाण्डेले नेपालको कानुन र संविधान अनुसार १९ वर्षको युवक माथि जबरजस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान थालेका छन् ।
नेपालमा प्रतिबन्धित रहेको अवैध लागुऔषध गाँजा र चरेशलाई पर्सा जिल्लाबाट न्युनीकरण र रोकथाम गर्नका लागि समेत प्रहरी उपरीक्षक पाण्डे लागि परेका छन् । लागुऔषधको कारोबारीहरु माथि पर्सा प्रहरीको कडा निगरानी रहेको छ ।
यसैगरी पर्सा जिल्ला अदालतबाट विभिन्न मुद्दामा फरार रहेका अपराधीहरुलाई पक्राउ गर्नका लागि प्रहरी उपरीक्षक पाण्डेले विशेष अभियान नै थाल्नु भएको छ ।
अभियान अन्तर्गत पर्सा प्रहरीले अहिले सम्म ४३ जनालाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक पाण्डे पर्सा जिल्लाका बासिन्दाहरुलाई शान्ति सुरक्षाको अनुभुति दिलाउनका लागि कुनै कसर बाँकी नराख्ने प्रहरी अधिकृत हुन् ।
पर्सा जिल्लालाई अपराधमुक्त बनाउनका लागि कसैसँग सम्झौता नगर्ने प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले प्रहरी विभाग र देशका लागि ईमान्दारीतापूर्वक काम गर्ने प्रहरीलाई सम्मान समेत गर्ने गरेका छन् ।