वीरगञ्ज, २१ असार । सामाजिक सुरक्षा भत्ताको विरोधमा वीरगंजका वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका छन् । सामाजिक सुरक्षा कोषमा आफूहरुलाई जबरजस्ती आवद्ध गरी खाइपाइ आएको सेवासुविधा समेत कटौती हुने भन्दै यहाँ रहेका वाणिज्य बैंकका कर्मचारी आन्दोलित भएका हुन् ।
सामाजिक सुरक्षा कोष ऐन नियमावली तथा कार्यविधिमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारी युनियनहरूले संयुक्त रुपमा पेश गरेका सुझावहरूको सम्बोधन नगरिएकोले आफुहरु विरोधमा उत्रिएको वीरगंज बैंकर ग्रुपका अध्यक्ष नितेश खड्गीले बताए ।
कोषमा आवद्ध हुननसक्कीने ५ वटा कारण देखाउँदै बैंकरहरुले सोमबार दियालो लर्ड्स प्लाजा होटल छेउमा रहेको पूरानो बसपार्कमा केहि बेर नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
योजनाका कतिपय बुँदा कर्मचारीको हित हुने गरी परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएको हुनाले र हालको विभेदकारी व्यवस्थाले विगतका उपलब्धीहरु समेत गुम्ने खतरा रहेको हुनाले उक्त योजनामा कदापी संलग्न हुन नसकिने ग्रुपका अध्यक्ष खड्गीले बताए ।
खड्गीका अनुसार कोषमा आवद्ध भएपछि आइएलएफ सन्धीमा भएको ब्यवस्था अनुसार सामूहिक सौदाबाजी गर्न पाइने छैन, यसअघि खाइपाइ आएको तलब घट्ने छ, सरकारी र निजी क्षेत्रका बैंकबीच विभेद सृजना हुनेछ (सरकारी स्वामित्वका तीन बैंक आवद्ध हुनुपर्दछ), सामाजिक सुरक्षा कोष र निवृत्तिभरण कोष ल्याएर पुनः विभेद गरिने छ, सरकारी कर्मचारीलाई भन्दा निजी क्षेत्रका कर्मचारीलाई सुविधा कम हुनेछ ।
सरकारले सामाजिक सुरक्षा कोष लाद्न खोजेपछी केही पुराना बैंकरहरु राजिनामा दिएका छन् भने थप यस पेशाबाट अलग हुने मनस्थितिमा पुगिसकेको एक बैंकरले बताए ।