वीरगंज, असार २६ । लायन्स क्लब ईन्टरनेशनलका पास्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले वीरगंजको सामाजिक क्षेत्रको विकासकालागि लायन्स क्लब इन्टरनेशनलबाट करिब एक करोड रूपैयाँ भन्दा बढीका परियोजनाहरू स्वीकृत भएको बताउनु भएको छ ।
लायन्स क्लब इन्टरनेशनलको वर्ष २०२१/२२ कालागि मनोनीत डिष्ट्रिक्ट क्याबिनेट अफिसरहरूको मनोनयन पत्र वितरण एवं छलफल गर्न शनिवार वीरगंजको होटल मकालुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अग्रवालले कोरोना भाइरसको तेश्रो लहरलाई मध्यनजर गर्दै लायन्स क्लबद्वारा नारायणी अस्पताल वीरगंजलाई ४५ लाख बराबरको मेडिकल उपकरण सहयोग गरिने बताउनु भयो ।
त्यसैगरि श्रीपुर मा.वि. वीरगंजमा अडिटोरियम निर्माण एवं वीरगंज महानगरपालिकासँगको सहकार्यमा वीरगंजको काली मन्दिर अगाडी रहेको चिल्ड्रेन्स पार्कलाई लायन्स क्लबको संरक्षणमा रहने गरि मधुमेहका बिरामीहरुकोलागि अत्याधुनिक सुविधा सम्पन्न व्यायाम केन्द्र संचालन गरिने तथा एक गाउँ एक लायन्स नामक परियोजना समेत संचालन गर्ने योजना रहेको बताउनु भयो ।
लायन्स क्लबका एरिया चिफ लायन बासु तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा लायन वर्ष २०२१/२२ कालागि मनोनीत जोन चेयरपर्सन, रिजन चेयरपर्सन, एओजी, डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ, चिफ डिष्ट्रिक्ट एडभाईजर, डिष्ट्रिक्ट डेपुटी चिफ, डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ, डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लगायतका क्याबिनेट अफिसरहरूलाई लायन्स क्लबका पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर.पी. खेतान र पाष्ट मल्टिपल काउन्सिल चेयरपर्सन लायन रमेश अग्रवालले अबीर लगाइ मनोनयन पत्र वितरण गर्नु भएको थियोे ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स क्लबका डिष्ट्रीक्ट एक्ज्युकेटिभ चिफ लायन डि.एन. अग्रवाल, चिफ डिष्ट्रिक्ट एडभाइजर लायन देव चौधरी, डिष्ट्रिक्ट डेपुटी चिफ लायन राम बिहारी पाण्डे लगायतले आगामी कार्यक्रमहरूका बारेमा चर्चा गर्दै मनोनीत अफिसरहरूलाई आउने कार्यकालकालागि बधाई दिँदै कार्यकाल सफलताको शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स क्लबकी रिजन चेयरपर्सन लायन विजया ओझैयाले गर्नु भएको थियो ।