वीरगंज, फागुन ७ ।
सम्पति शुद्धीकरण अनुसन्धान विभागद्वारा निजीक्षेत्रको आम्दानी र नाफालाई लिएर छानबिन शुरु गरेसँगै वीरगंजका उद्योगी व्यवसायी त्रसित भएका छन् । सरकारले चालू आर्थिक वर्षको बजेटको आकार घटाएर श्रोत व्यवस्थापनको खोजी र मितव्ययीतामा कडाइ गर्ने बहानामा निजी क्षेत्रलाई निशाना बनाउन लागेको उद्योगी व्यवसायीले आरोप लगाएका छन् ।
सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागद्वारा वीरगंजका केही उद्योगी व्यवसायीलार्ई कारोबार विवरण बुझाउन पत्राचार गरेपछि कारोबारको विषयलाई लिएर उद्योगी व्यवसायी त्रसित भएका छन् । सम्पत्ति शुद्धिकरण विभागले वीरगंजका केही उद्योग प्रतिष्ठानलाई कारोबार गरेको विवरण तथा हिसाब वासलातको जानकारी दिई सहयोग गर्नु भन्ने व्यहोराको पत्र पठाएपछि उद्योगी व्यवसायी मानसिक तनावमा परेको वीरगंजका एक उद्योगीले बताएका छन् ।
निजी क्षेत्रले सरकार व्यवसायमैत्री नभएको भन्दै गुनासो गरिरहेको अवस्थामा उद्योगीलाई नै राज्यमन्त्री बनाएर सहानुभूति बटुल्ने प्रयासमा रहँदा सम्पत्ति शुद्धिकरण मार्फत फेरि कारोबारको विवरण नै माग गर्न थालेपछि सरकारप्रति निजी क्षेत्रको दृष्टिकोण परिवर्तन हुनसक्ने सम्भावना देखिएको छ ।
राज्य संयन्त्रसँग विभिन्न नीति नियम र ऐन छन् । राजस्व र कर संकलन गर्ने निकाय पनि छन् । उद्योगी व्यवसायीहरूले गर्ने कारोबारको सबै विवरण कर कार्यालयमा बुझाउने गरेका छन् । त्यहीँबाट विवरणहरू नलिएर सिधा उद्योग प्रतिष्ठानलाई नै पत्राचार गर्नुले सरकारको नियतमाथि नै उद्योगी व्यवसायी सशंकित भएका छन् ।
अवैध व्यापार, करछली गरेको मात्रै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गर्दै आएकोमा अहिले व्यवसायीले कर बुझाएको कार्यालयबाट विवरणको जानकारी नलिएर सिधै व्यवसायीलाई नै पत्राचार गरेर मानसिक तनाव दिएको भन्दै वीरगंजका उद्योगी व्यवसायीहरुले गुनासो गरेका छन् ।
उद्योगी व्यवसायी माथि सधै अवैध कारोबारको शंका गर्ने सरकारले आफ्नो नीति परिमार्जन नगरेर संस्थागत र नीतिगत भ्रष्टाचारको नीतिलाई अवलम्बन गर्न खोजेको वीरगंजका उद्योगी व्यवसायिले आरोप लगाएका छन ।