जीतपुर, बैशाख १४ । नेपालकै अग्रणी बैंकको रुपमा रहेको नबिल बैंक लिमिटेडले आफ्नो १२९ औं शाखाको रुपमा जीतपुर सिमरा उपमहानगरपालिका स्थित जीतपुर बजारमा शुभारम्भ गरेको छ ।
उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगंजका निर्देशक राजनदेव भट्टराइले पानसमा दियो बालेर समुदघाटन गर्दै बैंकको सेवा शुभारम्भ गरेका थिए ।
कार्यक्रममा सभापतिको आसनबाट मन्तब्य राख्दै नबिल बैंकका प्रमुख सन्चालक अधिकृत गणेशप्रसाद अवस्थीले मुलुकमै हामीले बैंकका सबै सेवाहरु मोबाइल मार्फत नै हुने गरि डिजिटलाइट बैकिङ्ग सेवा प्रवाह गरेको हुँदा यसबाट सबै सेवाग्रहीहरु लाभान्वित हुनेमा बिश्वास प्रकट गरेका थिए ।
अवस्थीले तराइको प्रचण्ड गर्मीमा लामो लाइन लागेर आर्थिक कारोबार गर्न बाध्य हाम्रा आदरणीय ग्राहकहरुलाई थप छिटो र छरितो तवरबाट सेवा प्रदान गर्न यो डिजिटलाइट प्रबिधिको शुभारम्भ गर्न सकेकोमा खुशी व्यक्त गर्दै खाता खोल्न होस या प्रतितपत्र, पैसा जम्मा गर्नु परोस या निकाल्नु परोस, बैंक ग्यारेन्टी देखी अन्य सेवा सुविधाहरु समेत मोबाइल मार्फत अनलाइन नै गर्न सक्ने भएकोले बैक धाउनु पर्ने वाध्यकारी अवस्थाबाट मुक्ति पाउनुको साथै छिटोछरितो कार्य सम्पादन हुने भएकोले यस सेवाबाट ग्राहकहरु पूर्ण सन्तुष्ट हुनेमा बैंक बिश्वस्त रहेको जनाएका छन ।
नबिल बैंक पावर हाउस शाखाकी नम्रता प्रधानको कुशल व्यवस्थापन र सन्चालनले भव्य बनेको उक्त कार्यक्रममा जीतपुरसिमरा उद्योग वाणिज्य संघका अध्यक्ष संजय साह, वरिष्ठ उपाध्यक्ष मोहन शर्मा, नेपाल विद्युत प्राधिकरण सिमराका प्रमुख रामुकुमार श्रेष्ठ, नबिल बैकका मधेस प्रमुख दिपक श्रेष्ठ, मधेस प्रदेश अन्तर्गत गढीमाइ क्लस्टरका प्रमुख नितिन नन्दवाना, पावरहाउस शाखाका प्रमुख सन्तोष साह, जितपुर शाखाका प्रबन्धक सुमित टिबडेवाल लगायत उद्योगी, व्यवसायी, बुद्धिजिवी, सन्चारकर्मी, प्रबुद्ध व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
पावरहाउस शाखाका प्रमुख सन्तोष साहले देशभरी नबिल बैंकको १४८ वटा शाखाहरु र १८७ वटा एटिएमहरु रहेको बताउँदै ग्राहकहरुको सेवाको लागि नबिल बैंक सधै अग्रसर रहेको दावी गरेका थिए ।