चैत्र १०, २०७६ । सरकारले सर्वसाधारणलाई भोलि बिहान ६ बजेदेखि एक सातासम्म घर बाहिर निस्कन रोक लगाएको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि नेपालभर पूर्ण लक डाउन गर्ने निर्णय गर्दै सर्वसाधारणलाई घर बाहिर निस्कन रोक लगाएको हो ।
सरकारले ’औषधि उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने’ निर्णय गरेको छ ।
यसैगरी, सरकारले अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी र सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
त्यसैगरि सरकारले मंगलबारदेखि एक हप्ताको लागि आन्तरिक हवाई उडानहरु समेत बन्द गरेको छ ।
स्वास्थ्य सुरक्षा, खाद्यवुस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोर मैला व्यवस्थापन जस्ता अति आवश्यक सेवा बाहेक अन्य कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने कर्मचारी मात्र सरकारी कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाउने निर्णय समेत सरकारले गरेको छ ।
सरकारले निजी क्षेत्रका उद्योग, कलकारखानाका कर्मचारीलाई सम्बन्धित उद्योगले बिदा दिने व्यवस्था मिलाउने निर्णय समेत गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलने जोखिमलाई कम गर्न सरकारले लकडाउनको निर्णय गरेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।
आजमात्रै सरकारले फ्रान्सबाट फर्किएकी एक युवतीमा कोरोना भाइरस देखिएको जानकारी गराएको थियो ।
सिंहदरबारमा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले सरकारको आदेशको अवहेलना गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने निर्णय समेत गरेको छ ।