वीरगंज, चैत्र १६ ।
लकडाउनका कारण पर्साको ग्रामीण भेगमा खाद्यान्न आपूर्ति नहुँदा जनजीवन प्रभावित भएको छ । वीरगंज तथा भारतीय बजारबाट खाद्यान्न तथा अति आवश्यक वस्तुको आपूर्ति ठप्प भएपछि जनजीवन प्रभावित भएको हो ।
पर्साको ठोरी, जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली लगायतका गाउँपालिकाहरुमा दाल, चामल, तेल, चिनी, आलू, प्याज, लगायतका अति आवश्यक वस्तुको अभाव भएको स्थानिय वासिन्दाहरुले बताएका छन् ।
दैनिक आपूर्तिका वस्तुहरु खरिद गर्न किराना पसल तथा तरकारी पसलमा पुगेका उपभोक्ताहरु रित्तै हात घर फर्किनु परेको गुनासो गरेका छन ।
जिराभवानी गाउँपालिका वडा नं ३ नौकाटोला बजारमा रहेका किराना पसलका संचालक शंकर चौधरीले पसलमा भएको खाद्यान्न लगायतका सामानहरु सकिएको र नजिकको थोक विक्रेताकोमा समेत सामान नहुँदा आम उपभोक्तालाई अप्ठ्यारो भएको बताउनु भयो ।
देशै भरि लकडाउनका कारण वीरगंजबाट सामान ल्याउन नसक्दा ग्रामीण भेगमा अति आवश्यक वस्तुको अभाव भएको थोक विक्रेता नन्दलाल चौधरीले बताउनुभयो ।
उत्पन्न समस्याको बारेमा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले अति विपन्न, गरिब जनताका लागि निःशुल्क खाद्यान्न वितरणका लागि ३० क्वीन्टल चामलको व्यवस्थापन गरिसकेको बताउँदै गाउँपालिकामा विपन्न वर्गको तथ्याङ्क संकलन गरि वडा कार्यालयको नेतृत्वमा खाद्यान्न वितरण गरिने बताउनुभयो ।
गाउँपालिकामा खाद्यान्न अभाव हुन नदिनका लागि अहिले जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले पहल गरिरहेकोे समेत अध्यक्ष चौधरीले बताउनुभयो ।