काठमाण्डौ, चैत्र २४ ।
सरकारले नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई आगामी कार्यकालका लागि गभर्नर नियुक्त गरेको हो ।
निवर्तमान गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएपछि फागुन ५ गतेदेखि केन्द्रीय बैंकमा गभर्नरको पद खाली थियो ।
अधिकारी अहिले लगानी बोर्डको सिइओ छन् । उनलाई प्रधानमन्त्री ओलीले नै पहिलो कार्यकालमा नियुक्त गरेका थिए । नव नियुक्त गभर्नर अधिकारी लामो समय सम्म नेपाल राष्ट्र बैंकमा नै कार्यरत थिए ।
अधिकृतको रूपमा केन्द्रीय बैंकमा छिरेका अधिकारीले राष्ट्र बेंकको डेपुटी गभर्नरको रूपमा अवकाश पाएका थिए ।
अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा अधिकरी वरिष्ठ डेपुटी गभर्नर थिए । अधिकारीलाई गभर्नरको रूपमा अर्थमन्त्री खतिवडाले लैजान चाहेका थिए ।
यसअघि गभर्नर नियुक्तीका लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा गठित समितिले तीनजनाको नाम सिफारिस गरेको थियो ।
पूर्व सचिव कृष्णहरि बाँस्कोटा र पूर्व गभर्नर विजयनाथ भट्टराई सदस्य रहेको उक्त समितिले हाल नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर रहेका चिन्तामणी शिवाकोटी, महाप्रसाद अधिकारी र निवर्तमान अर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो ।
त्यसमध्येबाट अधिकारीलाई सरकारले पाँच वर्षका लागि गभर्नर नियुक्त गर्ने निर्णय गरेको छ ।