वीरगंज, बैशाख ४ ।
नेकपा वीरगंज महानगरका अध्यक्ष रहबर अन्सारीले आफनो स्वामित्वमा रहेको गण्डक अस्पताललाई कोभिड अस्पताल बनाउन महानगरलाई दिने घोषणा गरेसँगै वीरगंजको राजनीतिमा ८ रेक्टरकै भूकम्प गए जस्तो भएको थियो ।
त्यसै क्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, उहाँका प्रेस सल्लाहकार गोविन्द देवकोटा र अन्सारीलाई जोडेर एउटा नियोजित समाचार सार्वजनीक गरियो । ठिक त्यही बेला वीरगंज महानगरपालिकाले अस्थायी रुपमा कोभिड अस्पताल बनाउन वीरगंज क्षेत्रमा रहेको निजी क्षेत्रबाट संचालित भेन्टिलेटर र आई.सि.यु. समेत भएको कम्तिमा ५० शैयाकोे अस्पताल लिनेबारे आशय पत्र सार्वजनीक गर्यो ।
पछिल्ला दुबै प्रकरणहरु वीरगंजमा रहबरको अस्पताल दिने घोषणा पछिको पराकम्पन थिए ।
आज आएर ति सबै कुरा व्यवस्थापन भए । वीरगंज महानगरपालिकाले निजि अस्पतालहरुको लागि आवहान गरेको ३ दिने सूचनाको आज अन्तिम म्याद सम्म जम्मा एउटा मात्र आशय पत्र दर्ता भयो त्यो पनि गण्डक अस्पतालको ।
वीरगंजमा कोरोना भाइरसको संक्रमण तीन जनामा पुष्टि भएपछि संक्रमणको निकै जोखिममा वीरगंज छ भन्ने कुरा नागरिकको पहिलो सरकार भएको नाताले वीरगंज महानगरपालिका संवेदनशील हुनु स्वभाविक थियो । कोभिड अस्पताल संचालनको विषयमा महानगरले गरेको पूर्व तयारी त्यसकै एउटा रुप हो । तर कतिपयलाई त्यसले राजनीतिक रुपमा आफू असुरक्षित भएको महशुस गरायो । त्यसैको नतिजा स्वरुप नियोजित ढङ्गले दृश्यमा नदेखिएको गण्डक अस्पताललाई लिन कमिशनको खेल भएको हावादारी कथा सार्वजनीक गरियो ।
वीरगंज हेल्थ केयरलाई मासिक एक देखी डेढ करोडको बीचमा भाडा तिरेर कोभिड अस्पताल बनाउने कुरामा वीरगंज महानगरपालिका, अस्पताल व्यवस्थापन, स्थानीय प्रशासन र प्रदेशका मुख्यमंत्री समेत सहमत भएका थिए ।
वीरगंज हेल्थ केयर लिँदा कमिशनको खेल गरे भनेर कथा बनाएको भए हो की क्या हो भन्ने सम्मको अवस्था त बन्थ्यो तर गण्डक अस्पतालका विषयमा कमिशनको खेलको काल्पनिक कथा रचेर महानगर नेतृत्वलाई बिचलित बनाउने प्रयास भने प्रयासमा मात्र सिमित रहन पुग्यो ।
संकटका बेलामा आफना नागरिकको सुरक्षार्थ सबै काम गर्न तयार महानगर नेतृत्व बिचलित हुने कुरा थिएन । बरु कमिशनको कथा कसरी रचियो र त्यसलाई प्रकाशन गर्ने कुन स्तरको खेल भयो त्यसमा को को सहभागी भए त्यसको सम्पूर्ण तथ्य बोकेर कानूनी उपचारको बाटोमा जाने निष्कर्षमा महानगर नेतृत्व पुग्यो ।
यता महामारी विरुद्धको आफ्नो जिम्मेवारीमा महानगर झनै कटिबद्ध भयो । त्यसैको परिणाम हो बिपद व्यवस्थापनको पूर्व तयारीको रुपमा वीरगंजमा करिब ७० बेडको कोभिड अस्पताल तयारी अवस्थामा रहन पुग्यो ।
अन्सारीले सामाजिक संजाल मार्फत अस्पताल दिने कुरा घोषणा गर्दा त्यहाँ निःशुल्क भन्ने शब्द परेको थिएन । तर सामाजिक संजालमा एउटा स्टन्ट फेरि गरियो र अन्सारीको घोषणालाई प्रशंसा गर्दै “निःशुल्क” दिने हुनु भयो भन्ने ट्रेण्ड नै चलाइयो । त्यसको फाइदा आज देखियो गण्डक अस्पतालले वीरगंज महानगरलाई पेश गरेको प्रस्तावनामा निःशुल्क दिने भनेर प्रस्तावित गरेको छ ।
महानगरपालिकामा नेकपा वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले घोषणा गरे अनुसार निःशुल्क रुपमा उहाँको गण्डक अस्पतालले प्रस्तावना पेश गरेको छ । महानगरले प्रस्तावना मांग गरेको अन्तिम दिन सम्म एक मात्र गण्डक अस्पतालले प्रस्तावना पेस गरेको महानगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अरुण कुमार महतोले बताउनु भयो ।
प्रस्तावना पेश गर्नु पर्ने अन्तिम दिन आज सांझ ५ बजे सम्म श्री गण्डक हस्पिटल प्रा.लि. वीरगंजले मात्र प्रस्तावना पेश गरेको छ ।
हस्पिटलले पेश गरेको प्रस्तावनामा कोरोना भाइरस (कोभिड १९) संक्रमित बिरामीहरुको उपचारको लागि वीरगंज १४ स्थित रहेको अस्पताल भवन, अस्पताल भवनमा रहेको सम्पूर्ण उपकरणहरु अस्थाई रुपमा वीरगंज महानगरपालिकालाई उपलब्ध गराए वापत कुनै किसिमको भाडा नलिकन व्यवस्थापन तथा संचालनका लागि महानगरपालिकालाई हस्तान्तरण गर्न तयार रहेको उल्लेख गरिएको छ ।
यस विषयमा भोली शुक्रबार बस्ने बोर्ड बैठकले निर्णय गर्ने समेत निमित्त प्रमुख प्रशासकिय अधिकृत महतोले जानकारी गराउनु भयो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत मुजतुबा अंसारीले अस्पतालको तर्फबाट हस्ताक्षर गरेको प्रस्तावना महानगरपालिकामा पेश भएको छ । यस अघि अध्यक्ष अन्सारीले बैशाख १ गते कोरोना अस्पताल प्रयोजनको लागि सरकारलाई आफ्नो गण्डक हस्पिटल दिने घोषणा गर्नु भएको थियो ।
त्यसको भोली पल्ट बैशाख २ गते वीरगंज महानगरपालिकाले एक सुचना जारी गर्दै कोरोना संक्रमितको उपचारार्थ प्रयोजनको लागि इच्छुक निजी अस्पतालहरु संग प्रस्तावना मांग गरेको थियो ।