वीरगंज, बैशाख ४ ।
२०७६ सालको अन्तिम दिन चैत्र ३० गते वीरगंजको छपकैंयामा रहेको यतिम खानाको आश्रय स्थलमा बस्दै आएका तीन जना भारतीय मुस्लिम धर्म प्रचारकमा कोरोनाको संक्रमण पुष्टि भएपछि मध्य तराईमै गम्भिरता ब्याप्त भयो ।
कोरोना संक्रमण रोकथामको कमाण्ड पोष्ट पर्साले छपकैया क्षेत्रलाई सोही दिन सील गर्यो । वीरगंज महानगरपालिकाले सबै वडाहरुलाई रकम बिनियोजन गरेर राहत वितरणको जिम्मेवारी वडा स्तरमा हस्तान्तरण गरेको छ । सर्वदलीय संयन्त्र मार्फत नामावली संकलन गर्ने र राहत वितरण गर्ने जिम्मेवारी वडामै छ । ति वडाहरुमा राहत वितरण पनि भएको थियो ।
तर आइतवार देखी सील भएको क्षेत्रमा फेरी पनि खाद्यान्न अभाव भएको कुरा संचार माध्यम र केही नेताका विज्ञप्ति र अन्तरवार्ता मार्फत सार्वजनिक गरिए ।
संकटको बेलामा हो नेतृत्वको इमानको परिक्षा हुने । वास्तवमा उ जनताप्रति कति जिम्मेवार र जवाफदेही छ भन्ने कुरा संकटको बेलामा पुष्टि हुन्छ । सार्वजनिक संचार माध्यमको उपयोग गरेर विभिन्न माँगहरु तेर्स्याउनेहरुकालागि त्यही नै उनीहरुको काम भन्ने बुझाई हुन सक्छ ।
असहज परिस्थितिमा आफनो ज्यानलाई जोखिममा राखेर जनसेवामा समर्पित हुने जनसेवकनै जनताको असली मित्र हुन्छ । अहिले वीरगंज महानगरका प्रमुख विजय सरावगीले आफूलाई जनताको सच्चा सेवकको रुपमा प्रस्तुत गर्नु भएको छ ।
महानगरको प्रमुखले निर्देशन दिएकै भरमा धेरै काम हुन सक्छ । तर काम ठिक रुपमा भएको छ की छैन भन्ने कुरा सुनिश्चित गर्न र आफ्ना नागरिकहरुमा उत्साह र उत्प्रेरणा भर्न आफै कार्यस्थलमा कुद्नुले यो कुराको पुष्टि गरेको छ ।
तीन जना कोरोना संक्रमीत फेला परेपछि वीरगंज महानगर निकै जोखिममा परेको छ त्यसको प्रमुखको नाताले आफ्ना नागरिकको जीवन रक्षाकालागि अपनाउनु पर्ने सतर्कता, लिनु पर्ने निर्णयका सन्दर्भमा सरावगीले देखाउनु भएको सुझबुझले अहिले नागरिकलाई राहत महशुस भएको छ ।
वीरगंज महानगरपालिकाको वडा नम्बर २ मा आज करिब १५ सय परिवारलाई पुग्ने एक ट्रक खाद्यान्न सामग्री लिएर मेयर सरावगी आफै जानु भएको दृश्यले पनि यो कुरा स्थापित गरेको छ ।
कोरोना संक्रमित व्यक्ति वडा नम्बर २ को एक मस्जिदमा भेटिएसँगै त्यस क्षेत्रलाई गएको आइतबारदेखि सिल गरिएको हुँदा त्यहाँ खाद्यान्न तथा अति आवश्यक वस्तुहरुको अभाव भएको थियो ।
आफ्ना नागरिक समस्यामा रहँदा आफू हेरेर बसिरहन नसक्ने भन्दै खाद्यान्न सामग्री वडा कमिटीको जिम्मा लगाउन मेयर सरावगी आफै त्यस ठाउँमा पुग्नुभएको हो ।
वडा नम्बर २ का साथै त्यस आसपासका वडाहरु ३ र १६ का केही क्षेत्र पनि सिल गरिएको छ । स्थानीय प्रशासनले कोरोना संक्रमण फैलन नदिन त्यस ठाउँलाई सिल गरे पनि अति आवश्यक खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुहरुको वितरण नमिलाउँदा त्यहाँका जनताहरु भोकभोकै बस्नु परेको थियो ।
अहिलेलाई १५०० परिवारलाई पुग्ने गरी खाद्य सामग्री वडालाई जिम्मा लगाईएको मेयर सरावगीले बताए । उनले भने “आवश्यक परे अझै उपलब्ध गराउँछौं । सबै व्यवस्था महानगरले गर्छ, भोकभोकै कोही बस्नु पर्दैन ।”
त्यसैगरि सो क्षेत्रमा अहिले कोभिड १९ को र्यापिड टेस्ट पनि शुरु गरिएको मेयर सरावगीले जानकारी गराए ।