वीरगंज, बैशाख ५ ।
काठमाण्डौबाट अपडेट हुँदै आएको अनलाईन पत्रिका नेपालपाना डटकम विरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी परेको छ ।
सामुदायिक रेडियो प्रसारक संघका महासचिव एवं वीरगंज महानगरपालिकाका अवैतनीक प्रेस सल्लाहकार गोविन्द देवकोटाले उक्त अनलाईन विरुद्ध शुक्रवार प्रेस काउन्सिल नेपालमा उजुरी गर्नु भएको हो ।
उक्त अनलाईन पत्रिकाले बैशाख २ गते कोरोनाको कहरबीच मेयर सरावगी र रहबर अन्सारीको मिलोमतोमा पैसाको लागि ठुलो चलखेल, देवकोटा बने बिचौलिया भन्ने शिर्षक दिएर समाचार प्रकाशीत गरेको थियो ।
सधै न्यायपुर्ण र समतामुलक समाजकालागि क्रियाशिल, कुनै किसिमको अनियमितता, भ्रष्टाचार, ढिलासुस्ती, असमानता विभेद विरुद्ध उभिने, समाज र राष्ट्र प्रति इमान्दार र पारदर्शी भई काम गर्ने पत्रकार गोविन्द देवकोटा विरुद्ध हुँदै नभएको कपोल कल्पीत मनगढन्ते कुरा लेखेर मानमर्दन गरेको र व्यवसायीक पत्रकारिताको मर्म र पत्रकार आचारसंहिताको खिल्ली उडाउने काम भएकोले देवकोटाले नेपालपाना डटकम विरुद्ध कारवाहीको माँग गर्नु भएको हो ।
धर्मराज मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित प्रकाशक विवेक कुमार र सम्पादक मन्जु बुढाथोकी भएको सुचना विभागमा दर्ता नं १७६४-०७६-०७७ मा दर्ता भइ तिनकुने–३२ काठमाडौंमा केन्द्रिय कार्यालय र सम्पर्क नं ९८५११००१४८ राखिएको नेपालपाना डटकम नामक अनलाइन पत्रिकाले आफनो व्यक्तीगत मान मर्यादा र प्रतिष्ठामा आँच आउने गरी पत्रकार आचारसंहिताको पुर्ण रुपमा उल्लंघन गरी कपोलकल्पित झुठा तथ्यहिन समाचार प्रकाशन प्रसारण गरेको र खण्डन प्रकाशन प्रसारण गर्न समेत अटेर गरेकोले देवकोटाले कारवाहीको माँग गर्नु भएको हो ।
झुठा, तथ्यहिन र भ्रामक समाचार प्रकाशन प्रशारण गर्ने अनलाइन पत्रिका र सो सँग सम्बद्ध सम्पादक प्रकाशक समेतलाई प्रेस काउन्सिल ऐन २०४८ को दफा १२ तथा पत्रकार आचारसंहिता उजुरी र कारवाही सम्बन्धी कार्यविधि २०७५ को दफा ५ र ७ बमोजिम कारवाहीको माँग गरिएको छ ।