वीरगंज, बैशाख ६ ।
वीरगंज महानगरपालिकाले कोरोनाको रोकथाम र संक्रमणपछिको उपचारलाई सहज बनाउन सुविधा सम्पन्न Covid-19 कोरोना अस्पताल संचालनमा ल्याउन शनिवार वीरगंजको गण्डक अस्पतालसँग सम्झौता गरेको छ ।
वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी र नेकपा महानगर कमिटीका अध्यक्ष एवं गण्डक अस्पतालका संचालक रहबर अन्सारीलाई साक्षी राखेर महानगरपालिका र अस्पतालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

महानगरको तर्फबाट निमित्त प्रशासकीय अधिकत अरुण कुमार महतो र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मुँतुबा अन्सारीले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौताको अवधी तीन महिनाको रहने उल्लेख गरिएको छ । सम्झौतामा दोश्रो पक्ष रहेको गण्डक अस्पतालले अस्पताल उपलब्ध गराए वापतको कुनैपनि शुल्क नलिने सम्झौता पत्रमा उल्लेख छ । अस्पतालले आफूसँग रहेको भवन ,उपकरण लगायतका सबै कुराहरु उपलब्ध गराउने छ । तर अस्पतालले तिर्नु पर्ने बिजुली पानी, उपकरणको मर्मत सम्भार जेनरेटर तथा खाना खर्चमा लाग्ने रकम भने समझौतामा पहिलो पक्ष भनिएको वीरगंज महानगरले भूक्तानी गर्ने छ ।
महानगरपालिकाले सूचित गरेको २४ घण्टा भित्रमा दोश्रो पक्षले अस्पताल उपलब्ध गराई अस्पताललाई Covid-19 कोरोना अस्पतालमा परिणत गर्नुपर्ने छ तथा अस्पतालमा भएका विरामीहरुको व्यवस्थापन महानगरपालिकाको समन्वय तथा पहलमा हुने सम्झौता पत्रमा उल्लेख छ ।
Covid-19 कोरोना अस्पताललाई आवश्यक पर्ने जनशक्तिको व्यवस्था नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्टको संयोजकत्वमा गठन भएको समितिको निर्देशन अनुसार हुने उल्लेख छ ।
Covid-19 अस्पतालमा खटिने सम्पूर्ण जनशक्तिको तलब भत्ता, इन्सुरेन्स क्षतीपूर्ती नेपाल सरकारको नियमानुसार वीरगंज महानगरपालिकाले ब्यहोर्ने सम्झौतामा उल्लेख छ ।
अस्पतालमा खटिने जनशक्तिको खाना, क्वारेन्टिन तथा यातायातको व्यवस्था र अस्पतालमा हुने टेष्टहरु, स्वास्थ्य कर्मचारीका लागि आवश्यक स्वास्थ्य सुरक्षा उपकरणहरु लगायत सबैको व्यवस्थापन वीरगंज महानगरपालिकाले गर्ने छ ।
अस्पतालमा उपकरण अभाव भएमा अस्पतालसँगको समन्वयमा महानगरपालिकाले त्यस्तो उपकरणको आपूर्ती गर्ने छ । अस्पतालले बिरामीसँग कुनै पनि शुल्क लिन पाउने छैन । अन्य विषयमा दुबै पक्षको सहमतीमा निर्णय लिन सकिने प्रावधान राखेर समझौता सम्पन्न भएको छ ।
वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगी नेतृत्वको टीमले आफना नागरिकका लागि कोरोना उपचारको अस्थायी अस्पताल बनाएर महामारीको व्यवस्थापनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरेको छ । वीरगन्जमा सुविधा सम्पन्न कोरोना अस्पताल स्थापना गर्न एक महिना देखि सकृय रुपमा लाग्नु भएका नगर प्रमुख विजय सरावगीको नागरिकप्रतिको जिम्मेवारी र महानगरवासीको असल अभिभावकको भुमिकाका कारण सम्भव भएको हो ।
आफूले संचालन गर्दै आएको अस्पताल निःशुल्क रुपमा कोरोना अस्पताल संचालनका लागि दिएर युवा नेता अन्सारीले संकटमा जनताको साथमा उभिने आफनो परिचयलाई फेरी एक पटक प्रमाणीत गर्नु भएको छ । अन्सारीले अस्पताल दिने भनेर समाजिक संजालमा लेख्दा धेरैले महामारीको बेलामा गरिएको “स्टन्ट” भन्दै घोषणालाई भद्दा मजाक मनाएका थिए ।
तर आज नेपालको करार कानून आकर्षित गर्दै अस्पताल उपलब्ध गराउने कानूनी कागजमा हस्ताक्षर गरेर अन्सारीले समाजिक संजालमा निम्छरो तर्क गरेर रमाउने अराजक, सकारात्मक र सृजनात्मक हुन नसक्नेहरुलाई गतिलो जवाफ दिनु भएको छ ।
महानगर नेतृत्वले प्रदेश र संघ सरकारले आँट गर्न नसकेको काम आफै आँटेर गरि देखाउन सफल भएको छ । होस्टे मा हैैसे गर्दै अन्सारीले नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता भन्ने कुरा स्थापित गरेका छन ।
सम्झौता लगत्तै स्वास्थ्य मंत्रालयको टोली, वीरगंजका चिकित्सक र वीरगंज महानगरको टोलीले गण्डक अस्पतालको भौतीक निरिक्षण गरेको महानगरका अवैतनीक प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिनु भयो ।


