वीरगंज, बैशाख ८ ।
वीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले कोरोना भाईरस (कोभिड–१९) संक्रमणले निम्त्याएको संकटको सबै एकताबद्ध भएर सामना गर्नुपर्ने बताउनु भएको छ ।
वीरगंजमा पनि कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सरकारले गरेको लकडाउन घोषणपछि वीरगन्ज महानगरपालिकाले महानगरवासीहरुका लागि गरेको कामको जानकारी दिन आज महानगरपालिकामा आयोजना गरेको पत्रकार सम्मेलनमा महानगरप्रमुख सरावगीले महामारीले विश्व मानवजाति संकटमा परेको अवस्थामा अहिले पनि कतिपय व्यक्तिहरु आफ्नो राजनीतिक अभिष्ट पूरा गर्न उद्धत रहेको बताउँदै मानवीय संवेदनासँग खेलबाड गर्न खोजेको बताउनुभयो ।
वीरगंज महानगरवासीलाई कोरोना संक्रमणबाट बचाउन महानगरपालिकाले कुनै कसर बाँकी नराख्ने बताउँदै उहाँले अहिले वीरगंज महानगरपालिका कुनै राजनीतिक दबाव र प्रभावमा नपरी नगरवासीको हितको लागि काम गरिरहेको बताउनुभयो ।
महानगरपालिकाको सभाहलमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै प्रमुख सरावगीले महानगरपालिकाले कोरोना संक्रमण फैलिन नदिन गरेको प्रयास कुनै स्वाथपूर्तिका लागि नभई वीरगन्जलाई कोरोना संक्रमण फैलिनबाट बचाउनकै लागि भएको बताउनुभयो ।
लकडाउन हुनुभन्दा अगाडिदेखि नै आम नागरिकलाई कोभिड–१९ को बारेमा जागरुक बनाउनका लागि पर्चा, पोस्टर, रेडियो, पत्र–पत्रिका आदीको माध्यमबाट व्यापक जनचेतना अभियान संचालन गर्दै सीमामा आवतजावत गर्ने भारत लगायतका तेश्रो मुलुकबाट आउने व्यक्तिहरुको तापक्रम नाप्ने र उच्च तापक्रम भएका व्यक्तिहरुलाई आइसोलेसनमा राख्ने, भंसारमा महानगरपालिकाको स्वास्थ्य महाशाखाका कर्मचारीद्वारा हेल्थ डेस्कको संचालन गरि वीरगंजमा प्रवेश गर्ने व्यक्तिहरुको चेक जाँच गरिएको बताउनुभयो ।
लकडाउनको घोषणापछि वीरगन्ज नाकाको सीमा सुरक्षा निगरानीका लागि सुरक्षा निकायसँग समन्वय गर्दै दैनिक ज्यालादारी, मजदुरी गरी खाने घरपरिवारको लागि राहत सामाग्री उनीहरुको घर दैलोमा पुर्याउने काम गरिएको पनि बताउनुभयो । महानगरपालिका भित्र बसोबास गर्ने कोहीपनि व्यक्ति भोकै बस्न नपरोस भनेर सार्वजनिक रुपमा हेल्प डेस्क खडागरी मोबाईल नम्बर सार्वजनिक गर्नेदेखि केडिया डेन्टल कलेज, कलवार धर्मशाला र सिद्धार्थ स्कुललाई क्वारेन्टाइनको लागि व्यवस्थापन गर्ने, ठाकुरराम क्याम्पसमा भारतीय नागरिकहरुको लागि छुट्टै बस्ने व्यवस्था पनि मिलाइएको जानकारी दिनुभयो ।
प्रदेश सरकारको तर्फबाट २५ लाख पठाइएको बाहेक अन्य सरकारी निकायबाट कुनै सहयोग प्राप्त नभएको जानकारी दिदै उहाँले आत्मज्ञान प्रचार संघबाट १ लाख र जय गणेश बचत सहकारीबाट १५ हजार तथा सिप्रदी ट्रेडिङ्गबाट चामल र दाल जिन्सी सहयोग प्राप्त भएको बताउनुभयो ।
अन्य प्रदेशहरुमा पिसिआर मेशीनबाट जाँच गर्ने कार्य धमाधम भैरहेको भएपनि वीरगंजमा संक्रमित देखिएको दुई हप्ता हुँदा समेत कोरोना परीक्षण गर्ने पीसीआर मेशिन संचालनमा ल्याउन नसकिएकोले हेटौडा र काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको बताउनुभयो । यसमा प्रदेश र संघिय सरकारको भूमिका प्रभावकारी नभएको भन्दै मेयर सरावगीले असन्तुष्टि व्यक्त गर्नुभयो ।
वीरगंज नेपालकै मुख्य नाका भएर पनि संभावित जोखिम हुनसक्ने तीनवटा भंसारबाट भईरहेको आयातलाई समेत संघिय सरकारले ध्यान नदिएको उहाँले बताउनुभयो ।
वीरगंजमा ३ जना मुस्लीम जमातीमा कोरोना भएको पुष्टी भएपछि थप संवेदनशील अवस्थामा सिमाको सुरक्षा, छपकैंया गाउँ शिल गर्ने देखि संभावित जोखिममा रहेको त्यस क्षेत्रका जनताको द्रुत परिक्षण शुरु गरेर हाल सम्म एकहजार दुई सय नौ जनाको स्वास्थ्य परिक्षण गरिएको बताउनुभयो । त्यस्तै बिपन्न र दैनिक ज्याला मजदुरी गरी खाने घरपरिवारको वडा कार्यालय मार्फत संकलन गरीएको विवरणका आधारमा वडाहरुमा पनि सर्वदलिय संयन्त्र बनाएर राहत वितरण गरिएको बताउनुभयो ।
यसरी वीरगंज महानगरपालिकाद्वारा अहिले सम्म तीन करोड १९ लाख ५४ हजार नौसय ६५ रुपैंयाको राहत वितरण गरिएको बताउनुभयो । राहत वितरण गर्ने क्रममा केही ठाउँबाट गुनासोहरु आउने गरेकोले त्यसका लागि अनुगमन गर्न वडा स्तरीय सर्वदलिय संयन्त्रलाई नै भनिएको उहाँले बताउनुभयो ।
वीरगंजमा (कोभीड–१९) कोरोना अस्पताल संचालन गर्न गण्डक अस्पतालसँग सम्झौता गरिएको र स्वीकृतिका लागि मन्त्रालयमा पत्राचार गरिएको बताउनुभयो । नारायणी अस्पताललाई आम नागरिकको उपचार गर्ने केन्द्र बनाउनु पर्छ भनेर सबै राजनीतिक दल, नागरिक समाज र आम नागरिकबाट सुझावहरु आएपछि आफूले निजी अस्पतालमा (कोभीड–१९) कोरोना विशेष अस्पताल बनाउन कदम चाल्नु परेको बताउनुभयो ।
आफूले चालेको कदम आम वीरगंजवासी जनताको पक्षमा भएकोले यसमा कसैले राजनीतिक गर्न खोज्छ भने त्यसको जवाफ एक दिन जनताले नै दिनेपनि उहाँले बताउनुभयो । केही अनलाईन र सामाजिक संजाललाई प्रयोग गरि (कोभीड–१९) कोरोना अस्पतालको विषयलाई विवादमा ल्याउन खोजीएको प्रति आपत्ति जनाउँदै उहाँले मानवीय भावनाले काम गर्दा विवादमा ल्याउन खोज्नु वीरगंजकै लागि दुर्भाग्यपूर्ण भएको बताउनुभयो ।
पछिल्लो चरणमा तीन जना भारतीय जमातीमा देखिएको कोरोना संक्रमणको विषयलाई लिएर पनि यहाँ धार्मिक सदभाव भडकाउन खोजिएको बताउँदै उहाँले क्वारेन्टाईनमा बसेका व्यक्तिहरुलाई समेत फोन गरेर मेयर मुस्लीम समुदायको विरुद्धमा छ भनेर अफवाह फैलाउने षड्यन्त्र गरेको बताउनुभयो । क्वारेन्टाईनको सम्पूर्ण रेखदेख नेपाली सेनाले हेरिरहेको भएपनि क्वारेन्टाईन व्यवस्थापनको विषयमा समेत विवाद ल्याएर सेनालाई समेत विवादमा तान्ने कुचेष्टा गरिएको मेयर सरावगीले दाबी गर्नुभयो ।
यसैबीच वीरगंज (कोभीड–१९) अस्पताल संचालनका लागि भएको सम्झौता अनुसार अध्ययन गर्न गठन गरिएको विज्ञ चिकित्सकहरुको टोलीले वीरगंज महानगरपालिकालाई प्रतिवेदन बुझाएको छ ।
(कोभीड–१९) अस्पताल संचालनका लागि महानगरपालिकाले गण्डक अस्पतालसँग सम्झौता गरेपछि त्यहाँको पूर्वाधार संरचना र अस्पताल संचालनको लागि उपयुक्त छ कि छैन भनेर अध्ययन अनुगमन गर्न वीरगंजको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सहितको तीनजना चिकित्सक विज्ञहरुको टोलीलाई जिम्मा दिईएको थियो । मेसु. डा.मदन उपाध्याय, डा.निरज सिंह र डा.उदय नारायण सिंह सहितको टोलीलाई गण्डक अस्पतालको अध्ययन अनुगमनका लागि खटाईएको थियो ।
विज्ञ चिकित्सकहरुको टोलीले वीरगंज महानगरपालिकाले कोरोना विशेष अस्पताल संचालन व्यवस्थापन गर्न चालेको कदम अत्यन्त सराहनीय रहेको र सम्झौता गरेको गण्डक अस्पताल कोरोना अस्पताल संचालनका लागि पनि उपयुक्त रहेको बताएका छन् ।
चिकित्सकहरुको टोलीले गण्डक अस्पताल बिरामी मैत्री रहेको र त्यसमा आवश्यक केही उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने ७ बुँदे सुझाव सहित कोरोना अस्पताल सरकारको प्रचलित कानुन अनुसार संचालन गर्न पनि अनुरोध गरेको छ ।