वीरगंज, बैैशाख ११ ।
नारायणी अस्पताललाई जेनरल अस्पताल कायम गर्न माँग गर्दै वीरगंजमा प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी नेपाल वीरगंज महानगर कमिटिको आयोजनामा सामाजिक दुरी कायम गर्दै नारायणी अस्पताललाई जेनरल अस्पताल कायम गर्न वीरगंजमा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेशमान सिंहले कोभिड १९ अस्पताल शहरको बीचमा बनाउनु विश्व स्वास्थ्य संगठनको मान्यता विपरीत रहेकोले कोभिड १९ अस्पताल अन्यत्रै सार्नुपर्ने आफूहरुको माग रहेको बताएका छन् ।
सरकारले नारायणीलाई लेभल २ को कोभिड अस्पताल घोषणा गरेपछि अस्पतालबाट प्रवाह हुने आकस्मिक र सर्पदंश बाहेक अन्य सेवा ठप्प छ । कोभिड अस्पताल घोषणा हुनु अघि नै नारायणीमा कोरोना संक्रमित तीन जना भारतीय नागरिकलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।
रौतहटका संक्रमित सहित नारायणीमा ४ जना संक्रमितको उपचार भइरहेको छ । प्रदेश सरकारले बाराको कलैया अस्पताललाई कोभिड अस्पताल घोषणा गरेपनि संक्रमितको उपचारकाल लागि आवश्यक संरचनाको विकास हुन सकेको छैन । कोभिड १९ अस्पताल घोषणा भएपछि नारायणीबाट प्रदान गरिने अन्य सेवा सरकारी दरमै प्रदान गर्न नेशनल मेडिकल कलेजलाई भनिएको छ ।
गरिब जनताको उपचारको थलोको रुपमा परिचित नारायणीबाट अन्य जेनरल सेवा रोकिंदा सर्वसाधारण मर्कामा परेको उनीहरुको ठहर छ । प्रदर्शनमा सहभागीहरुले हातमा प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले नारायणी अस्पताललाई तत्काल जेनरल अस्पताल बनाउ, अन्तै कोरोना अस्पतालको व्यवस्था गर, आम नागरिकको स्वास्थ्य र सेवाको ख्याल गर लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।
नारायणी अस्पतालमा बारा, पर्सा, रौतहट र छिमेकी मुलुक भारतबाट समेत बिरामी उपचारका लागि आउने गरेका छन् । तर लकडाउनले गर्दा सवारी साधन सञ्चालन नहुँदा स्वास्थ्य सेवा पनि प्रभावित भएको छ । यसअघि नेपाली कांग्रेसका नेताहरुले पनि कोभिड १९ अस्पतालका लागि नारायणीको विकल्प खोज्नुपर्ने माग राखेका थिए ।
महानगर कमिटि अध्यक्ष लियाकत अलिको नेतृत्वमा भएको प्रदर्शनमा वडा नम्बर ३ का वडा अध्यक्ष बैजुलाल स्वर्णकार, बोर्ड सदस्य बरकतुल नेशा, नेताहरु खैरुद्दीन मियाँ, कलाम मियाँ ठकुराई, ग्यासुद्दीन मियाँ, ईस्लाम मंसुरी, जोगिन्दर सोनार, सलाउद्दीन मंसुरी, नुरेनबी ठकुराई, महानगर कोषाध्यक्ष अफरोज आलम, युवा नेताहरु एकलाख हुसेन, सईम अन्सारी, जबार मंसुरी, उमाशंकर सर्राफ, नवरत्न श्रीवास्तव, जियाउल हक, उमेश गुप्ता, उमेश मानन्धर, एजाजुल हवारी, कलाम मंसुर लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।