वीरगंज, बैशाख २० ।
प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीलाई बदनाम गर्ने षडयन्त्र भइरहेको छ । विश्वभरी फैलिएको कोरोना भाईरसको महामारीमा आफ्नो ज्यानको बाजी लगाई जनता माझ लोकप्रियता समेत हासिल गर्न सफल भएका मेयर सरावगीलाई बदनाम गर्न विभिन्न षडयन्त्रहरु भइरहेको समाचार प्राप्त भएको छ ।
यस्तो महामारीको बेलापनि जनताको घर दैलोमा पुगी सुःख, दुःख साटासाट गरिरहेकै बेला पार्टीगत एजेन्डा बनाई बदनाम गर्ने षडयन्त्र भइरहेको बारे प्रष्ट भएको छ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले स्थानीय चुनावमा विजयी हुनासाथ केही पार्टीका कार्यकर्तादेखी नेता समेत उनलाई बदनाम गर्ने तर्फ अग्रसर देखिएपनि हाल महामारीको समयमा फोहरी राजनीतिले गर्दा महानगरपालिकाको दैनिक कार्यहरु प्रभावित हुँदै गएकोमा स्थानिय जनताको गुनासो बढन थालेको छ ।
यता वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले आफू विरुद्ध जति षडयन्त्र गरेपनि फरक नपर्ने बताउनु भएको छ । वीरगंज महानगरपालिका भित्र रहेका ३२ वटै वडाका जनताहरुको सेवा गर्न आफू जहिलेपनि अग्रसर रहने बताउनु भयो । ३२ वटै वडाका जनताहरुको लागि आफू कहिलेपनि पछि नहट्ने उनले बताए । केही राजनितिकर्मीहरुको नियोजित षडयन्त्रमा आफू लगायत वीरगंज महानगरपालिकालाई बदनाम गर्न खोजिएको मेयर सरावगीले ठोकुवा गर्नुभयो ।
वीरगंज महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष भरत कुर्मीले लगाएको आरोप निराधार रहेको बारे दुईमत नरहेको प्रष्ट भएको छ । वीरगंज महानगरपालिकाका राजनीतिक सल्लाहकार मुकेश द्विवेदीकाका अनुसार वडा नम्बर १४ मा भेटिएको गुणस्तरहिन तथा कुहिएर डल्लो परेको चामल प्रत्यक्षदर्शीहरुले बिन्दबासिनी ब्राण्डको बोरामा भेटिएको बताएका थिए तर वीरगंज महानगरपालिकाले उक्त ब्राण्डको चामलनै खरिद गरेको छैन भने कसरी त्यो चामल त्यहाँ पुग्यो ? वहाँले केहि व्यक्तिहरुको मिलोमतोमा नियोजित ढङ्गले वडा अध्यक्ष भरत कुर्मीलाई प्रयोग गरि महानगरपालिकाका मेयर सरावगीलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् ।
वडा अध्यक्ष भरत कुर्मी लगायतका समुहले चुनाव जित्नासाथ पिपरा मठको जग्गा प्रकरणमा समेत सहभागी भई गुठी संस्थानको जग्गा व्यक्तिलाई बिक्रि बितरण गरेको आरोपमा अदालतबाट रु पाँच लाख धरौटीमा रिहा भएको समेत संचार माध्यममा उजागर भएको थियो । त्यस काण्डमा मेयर सरावगीले कुर्मीलाई सहयोग नगरी कारवाही गर्न मांग समेत राखेका थिए । त्यसैको रिसिबी साँध्न वडा नम्बर १४ का वडा अध्यक्ष कुर्मीले मेयर सरावगीलाई बदनाम गर्न खोजेको स्थानीय वडावासीहरु नै बताउँछन ।
भनिन्छ राजनीति जनताको सेवाका लागि गरिन्छ तर यस्तो महामारीको बेला आफ्नो रिसिबि र स्वार्थमा गरेको फोहरी राजनीति देखेर स्थानिय जनताहरु आश्चर्यमा पर्न थालेका छन । उनीहरुले यस्तो महामारी र संकटको समयमा पनि फोहरी राजनीति गर्ने र अर्काले गरिरहेको मानविय कार्यप्रति अंकुश लगाउने प्रयास गर्ने फोहरी राजनीतिकर्मीलाई कानुनको दायरामा ल्याई कडा कारवाही गर्नुपर्ने माग गरेका छन् ।