वीरगंज, बैशाख २१ ।
सरकारले वीरगंजको नारायणी अस्पताललाई कोबिड १९ अस्पताल बनाएपछि त्यसको विरोधमा नेपाली कांग्रेस पर्साले आज वीरगंजमा विरोध प्रदर्शन गरेको छ ।
विरोध प्रदर्शनमा नारायणी अस्पताललाई जोगाऔँ, कोरोना अस्पताल अन्त बनाऔँ भन्ने नारा लेखिएको प्लेकार्ड सहित कांग्रेसका नेता एवं कार्यकर्ताहरुले प्रदर्शन गरेका थिए । नारायणी अस्पताललाई सरकारले चैत ३० गते कोबिड १९ अस्पताल घोषणा गरेको थियो ।
कोबिड अस्पताल घोषणा पछि बैशाख २ गते देखि नै नारायणी अस्पतालमा कोरोना संक्रमण बाहेकका अरु सबै उपचार र सेवाहरु बन्द गरिएको छ । सरकारले वीरगंजको एक मात्र नारायणी अस्पताललाई कोबिड १९ अस्पताल बनाएपछि आर्थिक रुपमा कमजोर र मध्यम वर्गीय बिरामीहरु उपचारबाट बन्चित भएको भन्दै सरकारको निर्णयको विरोधमा नेपाली कांग्रेस पर्साले लकडाउन जारी रहेकै बेला वीरगंजको सडकमा उत्रिएर प्रदर्शन गरेको हो ।
कोबिड १९ अस्पताल बनाइएको नारायणी अस्पताललाई पुन: जेनरल अस्पताल बनाउन माग गर्दै वीरगंजमा २ साता यता निरन्तर प्रदर्शन भइरहेको छ । कांग्रेसका नेता कार्यकर्ताहरुले अस्पताल नजिकै मालपोत कार्यालय चोकको सडकमा बिहान साढे ११ देखि १२ बजेसम्म ताली बजाएर प्रदर्शन गरेका हुन् ।
पर्सादेखि सर्लाहीसम्म ४ जिल्लाका बिरामीहरुको उपचार हुने सरकारी अस्पतालको उपचार सेवा बन्द गर्दा बिरामीहरुले उपचार नपाएर समस्यामा परेको भन्दै कांग्रेसले विरोध प्रदर्शन गरेको हो । कोबिड १९ अस्पतालका लागि बैकल्पिक व्यवस्था गरेर नारायणी अस्पतालाई पुरानै अवस्थामा परिणत गरी सबै रोगको उपचार सेवा सन्चालन गर्नु पर्ने माग राखेर प्रदर्शन गरिएको कांग्रेस पर्साका सभापति अजय द्विवेदीले बताए ।
सरकारले नारायणी अस्पताललाई कोबिड १९ अस्पताल तोकेदेखि नै स्थानिय जनता र विभिन्न राजनैतिक दलहरुले निरन्तर विरोध गरिरहँदा पनि सुनुवाइ नभएपछि आम जनताको आवाज मुखरित गर्न आफूहरु बाध्य भएर सडकमा उत्रिएको उनले बताए । ’नारायणी अस्पताल जनताको अस्पताल हो, यहाँ आम जनताको उपचार हुनुपर्छ’, उनले भने,‘यदि सरकारले अब पनि जनताको यो आवाज सुनेन भने लकडाउन तोडेर ठूलो संख्यामा जनता सडकमा आउन बाध्य हुनेछन् ।’
निजी अस्पताललाई प्रोत्साहन दिने उद्देश्यले सरकारले नारायणीलाई कोभिड अस्पताल बनाएको प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा बताउँछन् । ‘गरिब नागरिक एनएमसी, बयोधा, एडभान्समा जान सक्दैनन् । यसो हुँदा हुँदै पनि निजी अस्पताललाई प्रोत्साहन दिन खोजिएको छ’ उनले भने ‘बारम्बार आग्रह गर्दा पनि नारायणीलाई नै कोभिड अस्पताल बनाउन चलखेल भएको छ । त्यसैले विरोधमा उत्रिएका हौं ।’
प्रदर्शनमा कांग्रेस नेताहरु सुरेन्द्र चौधरी, राजेन्द्र बहादुर अमात्य, प्रदेशसभा सदस्यद्वय ओमप्रकाश शर्मा, राजेश्वर साह, कांग्रेस पर्साका सचिव श्याम पटेल, जी.पी.कोईराला फाउण्डेशन पर्साका अध्यक्ष मो.सहाबुद्दिन, महिला नेतृ रुपा श्रेष्ठ, भवानी घिमिरे, राधा कार्की विद्यार्थी नेता मनोज साह लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरि बैशाख १३ गते पनि नारायणी अस्पतालमा पुन सबै रोगका बिरामीहरुको उपचार र अन्य सेवा सुचारु गर्न माग गर्दै वीरगंजको आदर्शनगरमा स्थानीयले सडकमा निस्किएर थाल ठटाएर प्रदर्शन गरेका थिए । त्यसअघि जनता समाजवादी पार्टी पर्सा र नेविसंघ पर्साले पनि सडक प्रदर्शन गरेको थियो भने नेकपा पर्साले पनि नारायणी अस्पताललाई पुरानै अवस्थामा फर्काउन प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन बुझाएको छ ।