वीरगंज, बैशाख २३ ।
वीरगंज महानगरपालिकाको कोभिड अस्पताल सम्बन्धी प्रस्तावनालाई संघीय सरकारको स्वास्थ्य मंत्रालयले अनुमती प्रदान गरेको छ । मंगलबार मंत्रीस्तरीय निर्णयबाट छुट्टै कोभिड अस्पताल संचालनको अनुमती दिएको वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीले बताउनु भयो ।
मेयर सरावगीले सबै राजनितिक दलको साझा प्रयासले गर्दा यो अभियान सफल भएकोमा यस अभियानमा जुट्नु भएका नेपाली कांग्रेस, नेकपा र जनता समाजवादी पार्टी लगायतका जिम्मेवार नेतृत्व वर्गलाई धन्यवाद समेत दिनु भएको छ ।
वीरगंज महानगरपालिकाले गण्डक अस्पतालसँग कोभिड अस्थायी अस्पताल संचालन गर्ने गरि गरेको सम्झौताका आधारमा नारायणी अस्पतालको ब्यानर तथा नेतृत्वमा कोरोना अस्थायी अस्पताल संचालन हुने गरि निर्णय भएको स्वास्थ्यमंत्री भानुभक्त ढाकालले बताउनु भएको संबिधान सभाका सदस्य एवं नेकपाका नेता बिचारी यादवले जानकारी दिनु भयो ।
बैशाख ६ गते वीरगंज महानगरपालिका र गण्डक अस्पतालका बीचमा सुविधा सम्पन्न कोरोना अस्थायी अस्पताल संचालनमा ल्याउन सम्झौता भएको थियो । कोभिड अस्पताल नारयाणी अस्पतालको नाममा संचालन हुनेछ । त्यसको नेतृत्व नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्टले नै गर्नेछन् । अस्पताल संचालनमा आएपछि जोडिएका आवश्यक पूर्वाधारहरु नारायणी अस्पतालकै हुने छन् ।
संघ सरकारले कोभिड अस्थायी अस्पताल संचालनका लागि स्रोत उपलब्ध गराउने छ । अन्य व्यवस्थापन भने वीरगंज महानगरपालिकाले गर्ने गरि स्वास्थ्य मंत्रालयले कोभिड अस्पताल संचालनको अनुमती दिने भएको नेकपाका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीले बताउनु भयो ।
यस अघि नारायणी अस्पताललाई पुर्वबत संचालन गर्न माँग गर्दै वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको नेतृत्वमा सर्वदलीय रुपमा स्वास्थ्य मंत्रालयमा ज्ञापन समेत बुझाइएको थियो । नेपाली काँग्रेसका पर्सा सभापति अजय कुमार द्विवेदि, नेकपा पर्साका अध्यक्ष प्रभु हजरा, जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश प्रसाद यादव, जगदिश पटेल लगायतले स्वास्थ्य मन्त्रालयलाई सामुहिक ज्ञापनपत्र बुझाएका थिए भने जनता समाजवादी पार्टीका युवा नेता ओमप्रकाश सर्राफले लकडाउनको पालना गर्दै आफ्नै आँगनमा बसेर धर्ना दिएका थिए ।
मंगलबार नेकपाका नेता नागेन्द्र चौधरीको नेतृत्वमा संविधान सभाका सदस्य एवं नेकपाका नेता बिचारी यादव, नेकपा वीरगंज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारी लगायत मंत्रालयमा गएको टोलीले स्वास्थ्य मंत्रीसँग भेटेर मध्य तराईका नागरिकले भोगी रहेको स्वास्थ्य समस्याको बारेमा जानकारी गराउँदै वीरगंज महानगरपालिकाको कोभिड अस्पताल सम्बन्धी प्रस्तावना अनुसार नारायणी अस्पताललाई पुर्वबत संचालनमा ल्याउन माँग गर्नु भएको थियो ।
स्वास्थयमंत्री ढकालले वीरगंज महानगरपालिकाको सम्झौतालाई आधार मानेर कोभिड अस्पताल संचालनको निर्णय लिने प्रतिबद्धता जनाउनु भएको थियो । अस्पताल संचालन सम्बन्धी पत्राचार आजै हुने संबिधान सभा सदस्य बिचारी यादवले जानकारी दिनु भयो ।