बुधबार वीरगंजका एकै परिवारका १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला सुरक्षा समिति पर्साले संक्रमित भेटिएका वीरगंज महानगरपालिकाको तीन वटै वडा सिल गर्ने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको सुरक्षा समितिले कोभिड १९ पोजेटिभ देखिएका व्यक्तिहरुको सम्पर्कमा आएका सबैको शीघ्र कन्ट्याक्ट ट्रेसिङ गरी चेकजाँचको कामलाई तीव्र पार्ने पनि निर्णय गरेको छ ।
कोभिड १९ संक्रमण फैलिनबाट रोक्न पूर्वमा रजत जयन्ती चौक, इदगाहचौक, छपकैया बिट चौक, मालपोत चौक, पश्चिममा बजार छपकैंया चौक, सर्सिया पुल चौक, सिर्सिया भन्सार, उत्तरतर्फ एमईएस स्कुल, पानीट्यांकी चौक, युक्ति सुधार केन्द्र, बहिपुल, दक्षिणतर्फ वीरगंज महानगरपालिका वडा नं. १ र २ का भारतसँग सीमा जोडिएका सीमा क्षेत्र सहित वडा नं. १, २ र ३ का इलाकाहरु समेटिने गरी शिलबन्दी गर्ने निर्णय भएको हो ।
वीरगंजमा एकै दिन १७ जनामा कोरोना संक्रमण देखिएपछि यसको रोकथामका लागि भई रहेको प्रयास र नारायणी अस्पतालसँगै अर्को कोरोना अस्पतालको समेत व्यवस्था गरिएको बारे वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले बताउनु भयो ।
सिमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईएसँगै एकै साथ एउटै परिवारमा २ महिने शिशु सहित १७ जना संक्रमित भएको यो घट्नाले वीरगंजलाई मात्र होईन समग्र मुलुकलाई नै झस्काएको छ ।